बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि

सुन्दरी प्रतियोगितालगायत अन्यमा विजयी हात्तीलाई महोत्सवको अन्तिम दिन पुस १५ गते पुरस्कार वितरण गरिनेछ।

चितवन– चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको ‘बिजुलीकली’ले जितेको छ।

शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेको हो।

बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो। ३०० पूर्णांकमा २२२ अंक प्राप्त गरी बिजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएको महोत्सवअन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए।

हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए।

सुन्दरी प्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, शृङ्गार, आँखाको सुन्दरता, हिँडाइ, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिएको तिवारीले जानकारी दिए। उनले नङ फुटे/नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गरिएको बताए।

सुन्दरी प्रतियोगितालगायत अन्यमा विजयी हात्तीलाई महोत्सवको अन्तिम दिन पुस १५ गते पुरस्कार वितरण गरिनेछ।