भारतको पन्जाबमा पुलबाट बस खस्दा ८ जनाको मृत्यु

भारतको पन्जाबमा यात्रुवाहक बस पुलबाट खस्दा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्। 

उत्तरी भारतको पन्जाब राज्यमा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्। दुर्घटना पन्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँनजिक भएको हो।

दुर्घटनालगत्तै स्थानीय बासिन्दा घाइतेलाई मद्दत गर्न घटनास्थलमा पुगेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उद्धार कार्यमा आफ्नो टोली र विपद् व्यवस्थापन बलका कर्मचारी पठाएको थियो।

“आजको दुर्घटनामा एक दुई वर्षीया बालिकासहित आठ जनाको दुर्भाग्यपूर्ण मृत्यु भएको छ,” भटिंडाका वरिष्ठ सरकारी अधिकारी शौकत अहमद परेले मिडियालाई भने, “तलवन्दी अस्पतालमा पाँच जनाको र अन्य तीन जनाको सिभिल अस्पताल भटिंडामा मृत्यु भएको पुष्टि भएको छ।”

तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई पुलबाट तल नालीमा खसेको हो। भटिंडाका वरिष्ठ प्रहरी अधिकारी अमनीत कोन्डलले दुर्घटनास्थलबाट ४६ यात्रुको उद्धार गरिएको बताए। प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ।