हाम्रा आदर्श र सपना कता सेलाए?

मान्छे किन क्रान्तिको खतरापूर्ण बाटो हिँड्छ, फेरि पहिले बोकेको आदर्शपूर्ण विचार किन त्याग्छ, पुरानो विचार, उद्देश्य तथा सक्रियता त्यागेर पनि पहिलाकै परिचय भने किन त्याग्न चाहँदैन?

अरबको मरुभूमि नेपालीको लस्कर
विमानस्थलभरि हुन्छन् माफिया र तस्कर
युवा छैनन् बस्तीतिर उजाडिए गाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाऊँ।  

शुरूआतका तीन वाक्य लेखककै भए पनि चौथो हरफ ०४१ सालमा प्रकाशित गीतकार खुशीराम पाख्रिनको ‘आँसुको भाका’ पुस्तकभित्रको उहाँ रचित गीतको हो।

सपना हरायो, जिउँदो छ या मर्‍यो भन्दा पनि सुख र दुःख मनाउने तरिका, जीवन जिउने तरिकाले नै सपना जिउँदै छ या मरेको छ भन्ने जनाउ दिन्छ। मर्नु र जिउनुको मानक के हो त? संकेत नै सन्देश बन्छन्। तुजुक र पाखण्ड प्रदर्शनले मन मस्तिष्कमा केलाई सुन्दर स्विकारेको छ भन्दै व्यक्तिको व्यवहार बोलिरहेको हुन्छ।  

हिजोका विश्वास, गतिविधि र कामकारबाही सही ठहर्‍याउन आजका भूमिकाले पुष्टि गर्न अनिवार्य हुन्छ। सामान्य मान्छेका कमीकमजोरीले पार्टी, राजनीति, देश र युगलाई केही असर पार्दैन। तर, व्यक्तित्वको विघटनले चौतर्फी असर पार्छ। जब हिजोका त्यागीले नै निष्ठा त्यागेपछि त्यसका असर यत्रतत्र र सर्वत्र पर्छन्।

यो अवस्थाबारे ०६६ सालमै मैले एक साप्ताहिक पत्रिकामा लेखेको थिएँ, ‘धरहरा ढलिरहेको देखिरहेको पनि छु, काँध पनि थाप्न सक्दिनँ, अर्को धरहरा बनाउन पनि सक्दिनँ। म मेरै विवशताको भरिया, उफ्!’ हालै मैले केही डिलक्स विवाह देखेँ। केही नेताको जन्मदिनका महामहोत्सव देखेँ। लालदासका चाकडी माहात्म्य सामाजिक सञ्जालमा छताछुल्ल देखेँ। केही नेताले आफन्तका नाममा घरजग्गा, शेयर किनबेच गरेको देखेँ। दुबई र जापानका व्यवसाय देखेँ। तोडिएका सम्बन्ध र जोडिएका चर्तिकलाले परिचय फेरिएको देखेँ। 

यस्तो अवस्थामा उनीहरूलाई पार्टीका नामलाई नै ट्रेडमार्क बनाएर मिथ्या तर्क कोरल्नु पर्दो रहेछ। आफूलाई अरूसरह देखाउन उनीहरू आर्थिक कारोबार आफ्ना र आफन्तका नाममा कमै गर्दा रहेछन्। मैले नबोले पनि तथ्य आफैँ चिच्याउँछ नै। तब यहाँ फेरि पाख्रिन सान्दर्भिक हुन्छन्: ‘छेके पनि छर्लंग देखेको, हेर गाउँले हो, देशमा के–के भो?’

ज–जसको जे–जे कुरा गर्दै छु, ती सामान्य पात्र र अवस्था भने थिएनन्। इतिहासको संगिन घुम्तीमा म तटस्थ रहिनँ। संसारमा कोही पनि तटस्थ हुनै सक्दैन। जीवन त गति हो। उनीहरू व्यक्ति मात्रै थिएनन्, क्रान्ति र विद्रोहका अगुवा पनि थिए। स्वत्व र पुँजी त्यागेर युगका लागि समर्पित थिए। फेरिएको सन्दर्भमा उनीहरूको चरित्र, अभ्यास र संस्कृति पछ्याउन र हेर्न अब भने कुनै १८ तले भ्युटावर चढ्नै पर्दैन न उच्च संवेदनशील 'जेम्स वेब स्पेस टेलिस्कोप' (निकै टाढाका र अँध्यारा वस्तुलाई पनि स्पष्ट रूपमा देख्न सकिने नासाले आविष्कार गरेको पछिल्लो समयको सबैभन्दा शक्तिशाली टेलिस्कोप) आवश्यक नै पर्छ।

हाम्रो आदर्श र सपना कता सेलाए? यस प्रश्नले विवेचन माग गर्छ, निर्धारण सहज तरिकाले नै गर्न भने सकिँदैन।

हामी कम्युनिस्ट टाढाका अति सुन्दर कुरा देख्छौँ, तर नजिकका राम्रा स्वीकार गर्न नसक्दा सामाजिकीकरण हुन सक्दैनौँ। त्यो अनुभूति मसँग धेरै छ। मूल कुरा, अगुवाको आचरण कस्तो छ भन्नेमा भर पर्छ। यदि नेतृत्वमा नैतिक पुँजी छ भने त्यसले प्रतिकुलतालाई अनुकूलतामा फेर्ने सामर्थ्य राख्छ, निराश जनमतलाई सपना देखाउँदै जगाउँछ। तर तिनै फेरिएर निरङ्कुश, फासीवादी र भोगवादी बने भने इतिहास मुर्दाको कथा र चिहान घारीको यात्राको भाष्य बन्छ। 

इतिहासको अन्त हुँदैन। 'इन्ड अफ् हिस्ट्री एन्ड लास्ट म्यान'का अमेरिकी भाष्यकार फ्रन्सिस फुकायामाले पछि आफ्नै चिन्तन सुधारे। क्रान्तिले पनि आफूलाई निरन्तर परिष्कार गर्दै अघि बढ्नुपर्छ। जहाँबाट आदर्श र सपना सेलाएर यात्रा रोकिएको हुन्छ, त्यहीँबाट अर्को समूह वा पुस्ताले यात्रा शुरू गर्छ। तर इतिहासको निर्मम समीक्षा नगरीकन कोही अगाडि बढ्न सक्दैन। इतिहास निर्मम हुन्छ, त्यसैले अर्ति दिन्छ। जसले इतिहासबाट शिक्षा लिँदैन, उसलाई कठघरामा उभ्याउँछ। इतिहासले  पनि बाईप्रोडक्ट पैदा गर्दै जान्छ, तब नायकहरू खलनायकमा फेरिँदै जान्छन्।

इतिहासको आफ्नै राजमार्ग हुन्छ। उसले जगतलाई शिक्षा दिन्छ, शिक्षा नलिनेलाई दण्डित गर्छ। दागिस्तानी कवि हमजातोभ भन्छन्, ‘जसले इतिहासलाई पेस्तोलले हान्छ, उसको भविष्य बमले छियाछिया पार्छ।’ हामी इतिहासलाई दराजमा थन्क्याएर राजनीतिक रंगमञ्चमा आएका हौँ, हामीसँग नाम त छ, तर के गर्नु चिसो बारुदमा आगो हुँदैन। पड्किँदैन हजुर, पड्किँदैन।

महान् व्यक्ति आफ्नो प्रण कुनै हालतमा पूरा गर्छन्, चाहे त्यसले निजी जीवनलाई नै घाटा किन नपरोस्। नाफाघाटा सोचेर क्यालकुलेटर चलाउने युगीन नायक बन्नै सक्दैनन्। मध्यम खालका व्यक्ति आफूलाई जे सहज हुन्छ, त्यही गर्छन्। लुच्चा आफ्नो प्रण त्याग्न पनि सक्छन्। तर व्यवहारमा उल्टो गरेर पनि आफूलाई ठीक भन्न पुग्छन्।

प्रतिकूलताका आदर्श अनुकूलतामा छरपस्ट हुँदा रहेछन्। मौका नपाउँदा बनेका आदर्श, दबेको भावना जब अनुकूलतामा बाहिर आउँछ, तब सांस्कृतिक सामन्तवादद्वारा सिर्जित आचार, विचार र व्यवहार छताछुल्ल हुँदा रहेछन्।

सपना देखेपछि आफ्नै लागि घारो र कात्रो बोकेर झ्याम्मै कर्णालीमा हाम फालेको पिँढी हो हाम्रो। स्वयं अछुतो छैन। आदर्शको स्खलनले मलाई पनि कहिलेकाहीँ नस्टाल्जियामा धकेल्छ।

अघिल्लो हप्ता बर्दियास्थित पुराना कुन्टी (छाप्रो)मा पुगेपछि सम्झनाका रिल मस्तिष्कमा घुम्न थाले। अनुभूति निकै भावनात्मक हुन्छ। हामी त्यहाँको माइतीगाउँलाई हामी तोराबोरा बस्ती भन्थ्यौँ। माओवादी जनयुद्धताका यो गाउँ हाम्रो सुरक्षित थलोको रूपमा थियो। वास पाइन्थ्यो र भोक लाग्दा खान पाइन्थ्यो, वास्तवमै माइतीगाउँजस्तो नै थियो। थारू बस्तीको आत्मीयता र अतिथि सत्कारका दिन सम्झन्छु। बासी भात र खुर्सानीको तिहुनलाई मिष्टान्न भोजन मानेर खान दिने दाइ (बूढीआमा) को अहिले सम्झना आउँछ। उनी बितिसकेको खबरले मनमा एक प्रकारको शून्यता छायो।

त्यो त एउटा ठाउँको कुरा भयो। हरेक घटना, स्थान, नायक र नायिकाले यतिखेर व्याख्याता कुरिरहेका छन्। सामान्यबाट व्यक्तित्वमा फेरिएका गौरवशाली कथाहरू स्वयं चिच्याएर मलाई नै प्रश्न गरिरहेझैँ लाग्छ। ती चिच्याहट जताततै सुन्छु, देख्छु। आदर्श बोकेर जनविश्वविद्यालय चहारेका क्षणहरू सम्झँदा मात्रै आतंकित होइन्छ।

हाम्रा आदर्श, सपना किन र कता सेलाए भन्ने कुरा देश, समाज, समय र व्यक्तिगत अनुभवसँग जोडिएको हुन्छ। सबैका आदर्श र सपना समान हुँदैनन्। समयसँगै एउटा कुरा फेरिँदा धेरै कुरा फेरिँदा रहेछन्। आफन्त, सम्बन्ध, विश्वास, सौन्दर्य, आस्था, मूल्य, मान्यता, आदर्श, बोली, रहनसहन, व्यवहार र भूमिका पनि बदलिँदा रहेछन्। सौन्दर्यको परिभाषा पनि समयसँगै उलटपुलट हुँदा रहेछन्।

व्यक्तित्व र सामान्य मान्छेबीचको फरक जान्न नेत्रलाल अभागीले पञ्चायतकालमै लेखेको कविता सान्दर्भिक हुन्छ:

आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि बहादुरीका लामा–लामा कुरा गर्न सक्छ
तर मेरा मित्र आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि आँधी र हुरीसँग पौँठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ।
कविले कविताजस्तै जिन्दगी बिताए र गुमनाम शहीद भए।

जिन्दगीका तरुण उमेर स्वप्निल यात्रामै खर्चेकी सशक्त कवि निभा शाहसँग एक बिहान हराएका हाम्रा आदर्श र सपनाबारे गम्भीर सम्वाद भए:

‘सबैभन्दा घिनलाग्दो के हुन्छ भन्नू त दाइ?’

‘विश्वासघात। यो दुनियाँमा सबैभन्दा घिनलाग्दा हुन्छन् आँखाबाट खसेका मान्छे। सिनो त्यति घिन लाग्दो हुँदैन, जति घिनलाग्दो जिउँदो सिनो हुन्छ। जब विश्वास टुट्छ, तब मान्छे आँखाबाट गिर्छ। विश्वास टुटेपछि नायक/नायिका खलपात्रमा फेरिन्छन्। विश्वास नटुटुन्जेल राम्रा लाग्छन्, भलै तिनी खलपात्र बनिनसकेका किन नहुन्! आदर्शको बर्को ओढ्दा उनका कर्तुत देखिँदैन र आँखाबाट गिरेका पनि हुँदैनन्। विश्वास टुट्नु दुर्घटना हो, तब जोकोही आँखाबाट गिर्छ। घाम डुब्यो त डुब्यो। अब फेरि उदाउँदै छ घाम हेर, निभा। त्यहाँ सुन्दर कविता छन्। त्यहाँ बगरमा फूलेका फूल छन्, उर्वरतामा फुलिरहेका गुलाब छन्। जीवन यस्तै हो निभा...बगर र उर्वरताको समायोजन।’

तब निभाले एउटा कविता नै पठाइन्:

सबैभन्दा घिन लाग्दो हुन्छ
मान्छेको आँखाबाट खसिरहेको मान्छे
सबैभन्दा सुन्दर हुन्छ
मान्छेको आँखामा उदाइरहेको मान्छे
सबैभन्दा घिनलाग्दो हुन्छ
दुई खुट्टे छेपाराको रङ
सबैभन्दा सुन्दर हुन्छ इन्द्रेणीको रङ
सबैभन्दा घिनलाग्दो हुन्छ नालीमा सलबलाइरहेका किरा
सबैभन्दा सुन्दर हुन्छ पुतली हुन खोजिरहेको झुसेली किरा।

स्मृतिले कसैलाई पनि चैनसँग रहन दिँदैन। तर फुर्तीकारले भने आफैँलाई धोका दिइरहेका हुन्छन्। सामान्य अवस्थामा चैन रहे पनि तिनको एकान्त र निन्द्रा भयावह हुन्छ। अतः यिनीलाई हृदय सुम्पेर धोका खानुभन्दा मस्तिष्क लगाएर फरक यात्रा गर्नु राम्रो हुन्छ। 

एक लाल बुझक्कडसँग विगतका भूमिका र तुहिएका सपनाका कुरा भए। 

आशक्तिका ग्रन्थि रसाइदिने तर्क कोरल्दै उसले भन्यो, ‘अनुशासित कार्यकर्ताले नेतृत्वका हरेक कामलाई ताली बजाउनु र विरोधीको भने तथ्ययुक्त तार्किक विचारको समेत उछितो काढ्नुपर्छ। आफ्नै विवेक प्रयोग गर्नेहरू असल कार्यकर्ता बन्न सक्दैनन्। कोही मान्छे त्यसै नेता बन्दैनन्। त्यसो हुँदा असल कार्यकर्ताले नेताका जुनसुकै कर्मको मन, वचन र कर्मले समर्थन गर्नुपर्छ। पार्टी जीवनमा भिन्नमत जाहेर गर्नेहरू अराजक हुन् र तिनले अनुशासनको डन्डा खान तयार हुनुपर्छ। अहिले सन्दर्भ र अवस्था फेरिए। अझै पनि पुरानै रटान लगाउनु मरेकी आमालाई मरणघाटमा अँगालो हालिरहनु वा नदी तरेपछि पनि घाटमै नाउ समातिरहनु हो। शक्तिको बजारमा बिक्न र टिक्न कला चाहिन्छ। शक्ति पाउन शक्तिलाई सलाम ठोक्नुपर्छ। नेतृत्व (शक्ति) वा आफन्तलाई खुशी पार्न तिनले भनेका हरेक कुराको समर्थन गर्नुपर्छ। तिनले सुन्न चाहेको गीत मात्रै गाउनुपर्छ। तिनको दिल र दिमागको चित्र उतार्दै उपहार दिनुपर्छ। तिनले नै उपहारमा दिएका वस्त्र र गहना लगाएर तिनलाई भेट्न जानुपर्छ। कुरा काट्न हुँदैन, हरेक कुरामा सही थाप्नुपर्छ। भनिएका कुरालाई नै थप बुट्टा भरेर आड दिनुपर्छ। शङ्काको ठाउँ दिनैहुन्न। सक्छौ जित्नेको पछि लाग, सक्दैनौ मौन बस, तर हार्नेको पछि किमार्थ नलाग। सपना, आदर्श र हिजोका कुरा गरेर गाला बजार्नु क्षमताहीनको कर्ममा लेख्या हुन्छ, बुझ्यौँ!’

यो 'सफल र चतुर मान्छे' गयो, तर म सोच्न थालेँ–मान्छे किन राजनीति गर्छ? क्रान्तिको  खतरापूर्ण बाटो हिँड्छ? फेरि पहिले बोकेको आदर्शपूर्ण विचार किन त्याग्छ? पुराना विचार, चरित्र र उद्देश्य तथा सक्रियता त्यागेर पनि पहिलाकै परिचय भने किन त्याग्न चाहँदैन?

असहज, अन्यायपूर्ण, वा असमान वर्तमान महसुस गरेपछि परिवर्तनको आवश्यकता महसुस भएरै संवेदनशील मान्छेहरू खतरा उठाउन तयार हुन्छन्। ऐतिहासिक व्यक्तिहरूले गरेका संघर्ष र बलिदानका प्रेरणाले तिनको दिल र दिमागमा हुटहुटी चल्छ। भविष्यमा राम्रो जीवनको आशा र विश्वासले प्रेरित हुन्छ। तर तिनै मान्छे उपभोक्तावादको 'सुविधा-ग्रन्थि' रसाएपछि 'पुराना विचार' त्याग्न तयार हुन्छ।  

कांग्रेस, एमाले र माओवादी सबैले सपना देखेका थिए। आआफ्ना समयमा सोहीअनुसार भूमिका निर्वाह गरेका थिए। तर अहिले सबै जैविक चरित्र, संस्कृति र परिचयमा छैनन्। पुराना चरित्र, आदर्श र उद्देश्य त्याग्दात्याग्दै पनि पहिलाको परिचय भने त्याग्न सकेका छैनन्। जे छँदै छैन, त्यही भन्नु उनीहरूको विवशता हो।

आदर्श र सपना सेलाउनुका कारण:

१) जीवनशैली: समाज बढी भौतिकवादी र प्रतिस्पर्धात्मक बन्दै गयो। आदर्श र सपना अगाडि बढाउन समय, धैर्य, र साहस चाहिन्छ तर विलासी जीवनशैलीले यो सम्भावना कमजोर बनायो।

२) नेतृत्वको अभाव: समाजलाई मार्गदर्शन गर्न सक्ने आदर्श नेता र उदाहरणीय व्यक्तित्वको अभावले पनि मान्छेका सपना र उद्देश्य हराउँदै गए।

३) सामाजिक चुनौती: गरिबी, बेरोजगारी, र असमानताका कारण धेरैले आफ्ना व्यक्तिगत सपना पूरा गर्नै गाह्रो मान्न पुगे। यस्तो अवस्थामा, आदर्शलाई प्राथमिकतामा राख्न कठिन हुँदै गयो।

४) विदेश मोह: धेरै युवामा बिदेसिने प्रवृत्ति बढ्दै गएको छ। आफ्नो देश र समाजप्रतिको जिम्मेवारी भुल्दै व्यक्तिगत सपना प्राथमिक हुँदै गएको संकेत गर्छ यसले। संसारभरकै समस्या हो यो। डिजिटल दुनियाँले गर्दा अर्कोको राम्रो देख्यो, तर आफूसँग भएको राम्रो बिर्सियो।

५) आत्मविश्वासको कमी: पराजय वा निराशाका कारण पनि मान्छेहरू लक्ष्य र आदर्शबाट पछि हट्छन्। चुनौतीको सामना गर्ने आत्मबल नहुँदा सपना खण्डित हुन सक्छन्।

६) सामूहिक चेतनाको ह्रास: व्यक्तिगत फाइदा खोज्नमै अल्झिँदा सामूहिक आदर्श र सपना हराउँदै जान्छ। आत्मालोचना गरेर, आफ्नो आधारभूत मूल्य र उद्देश्यलाई पुनः जागृत गर्न सक्दा आदर्श र सपना फेरि बलियो बनाउन सम्भव हुन्छ।

७) उद्देश्यले विश्वास पैदा गर्छ, विश्वासले निष्ठापूर्वक अघि बढ्न प्रेरित गर्छ। उद्देश्य, आदर्श र निष्ठा जब मर्छ, त्यहाँ मूलतः विचारको अन्त्य हुन्छ।  

अन्तमा,

उदारवाद र उपभोक्तावादले मस्तिष्कमा रजाइँ गर्न थाल्दा टुप्पीभन्दा माथि पैसो बस्न थाल्यो। पैसा भएपछि जे पनि गर्न सकिन्छ, पैसा कमाउन जे पनि गर्नु जायज हुन्छ भन्ने भाष्य 'इजी मनी' (सहज पुँजी) को सिद्धान्तले तयार गर्‍यो। तब अल्पायुमै सपना बिथोलिए।

हाम्रो आदर्श र सपना सेलाउनुको बीभत्सताबारे पन्जाबी कवि अवतार सिंह पासले लेखेर गए:

सबसे ख़तरनाक होता है
मुर्दा शांति से भर जाना 
न होना तड़प ना सब कुछ सहन कर जाना 
घर से निकलना काम पर 
और काम से लौटकर घर आना 
सबसे ख़तरनाक होता है 
हमारे सपनों का मर जाना 

(सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु,
पीडा महसुस नहुनु, बिना प्रश्न सबै सहनु।
घरबाट कामका लागि निस्कनु,
र कामबाट फेरि घर फर्किनु।
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरू मर्नु।)