भोटियाटोलमा १९ दलित परिवार छन्। उनीहरू मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी बचतसमेत गर्दै आएका छन्। कोषमा जम्मा १ लाख ५० हजार रुपैयाँ बचत भइसकेको छ।
सिरहा– लहान नगरपालिका–१२ की जमुना सदायलाई ज्याला मजदुरीको काम खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको छ। जमुना बाख्रापालन र तरकारीखेतीमा रमाउन थालेकी छन्। कृषि र पशुपालन पेसाबाट परिवारको जीविकोपार्जन हुन थालेपछि ढुक्क रहेको उनले सुनाइन्।
तराई मधेशका अधिकांश विपन्न दलित समुदायका युवा कामको खोजीमा भारतका विभिन्न शहरमा भौँतारिरहेका हुन्छन्। गाउँमा भएका महिला र पुरुष जीविकोपार्जनका लागि अरूको घरमा ज्याला मजदुरी गर्न बाध्य छन्। नाना, छाना र खानाको अभावमा रोग, भोक र शोकमा जीवन व्यतीत गर्ने दलित समुदायको दैनिकीलाई कृषिकर्मबाट जमुनाले केही हदसम्म पार लगाएकी हुन्।
“बाख्रा पालेकी छु। बटैया (बटिया)मा भए पनि खेती गरेकी छु। धान रोप्ने, तरकारी उब्जाउनेबाट आफूलाई खान र बजारमा लगेर बिक्री गरी आम्दानी गर्न पुगेको छ,” जानुकाले भनिन्, “सधैँ अर्काकोमा गएर मजदुरी गर्नुभन्दा आफ्नै पौरखमा खुशी मिलेको छ।” कृषिकर्मबाट परिवारको खर्च, बालबच्चाको पालनपोषण र अध्ययन खर्च जुटाइरहेको उनले सुनाइन्।
सोही टोलकी उर्मिलादेवी सदायको भोगाइ पनि जमुनाको जस्तै छ। तरकारीखेती र पशुपालनबाट दैनिक जीवनयापनको परिभाषा बदलिएको उनले बताइन्। जमुना र उर्मिलादेवीका छोरी अञ्जलीकुमारी सदाय र आरतीकुमारी सदाय लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गरिरहेका छन्। पठनपाठनमा खासै ध्यान नदिने यहाँका दलित समुदायभित्र, त्यो पनि छोरीलाई १२ कक्षासम्म अध्ययन गराएर समाजमा एउटा उदाहरण प्रस्तुत गरेका छन्, जमुना र उर्मिलादेवीले।
“हामीले नपढेर दुःख पायौँ। कालो अक्षर भैँसी बराबर भएको छ। सधैँभरि अर्काकै भरमा, मजदुरी गरी जीवन निर्वाह गर्नुपरेको छ,” पीडा पोख्दै आरती उर्मिलादेवीले भनिन्, “अब त्यही नियति छोराछोरीले भोग्नु नपरोस्। उनीहरूले हाम्रो जस्तो दुःख नपाउन्।” दुई छोराछोरीमध्ये छोरा सुरज सदाय कक्षा ५ मा अध्ययन गरिरहेका छन्।
भोटियाटोलमा १९ दलित परिवार छन्। तीमध्ये १७ परिवार मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी सामूहिक बचतसमेत गर्दै आएका छन्। स्थानीय अधिकार कार्यक्रमअन्तर्गत ‘एक्सन एड’को आर्थिक सहयोगमा दलित जनकल्याण युवा क्लबले यहाँका विपन्न दलित बस्तीमा महिला समूह बनाई आयआर्जनका लागि कृषि र पशुपालनको उपर्युक्त वातावरण निर्माण गरिदिएको हो।
क्लबका सामाजिक परिचालक सुमन चौधरीका अनुसार आयआर्जनका लागि यहाँका १७ दलित परिवारलाई गत वर्ष प्रतिघर दुईवटा उन्नत जातका बाख्रा वितरण गरिएको हो। यस वर्ष आठ परिवारलाई १६ वटा बङ्गुर वितरण गरिएको उनले जानकारी दिए।
समूहका महिलाले मासिक १०० रुपैयाँ बचत गर्ने गरेका समूहका अध्यक्षसमेत रहेकी जमुनाले बताइन्। उनका अनुसार हालसम्म कोषमा जम्मा १ लाख ५० हजार रुपैयाँ बचत भइसकेको छ। उक्त रकम सस्तो ब्याजदरमा व्यवसायका लागि पालैपालो समूहका महिलाहरूले चलाउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
