सूर्योदय हेर्न मानुङकोट [तस्वीरहरू]

सूर्योदयसँगै अन्य मनोरम दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले यो ठाउँ भरिभराउ हुने गरेको छ। डाँडामा भ्युटावर पनि निर्माण गरिएको छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी 

तनहुँ– व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि घुइँचो लाग्न थालेको छ।

सूर्योदयसँगै अन्य मनोरम दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले यो ठाउँ भरिभराउ हुने गरेको छ। डाँडामा भ्युटावर पनि बनिसकेको छ।

मौसम खुलेको बेला यहाँबाट धौलागिरि, मनासलु, लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता थुप्रै हिमशृंखला देखिन्छ। यसैगरी, दमौली बजार, मादी नदी, रिसिङ, सांगे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ।

काठमाडौँदेखि १६० किलोमिटर र पोखरा देखि ५५ किलोमिटर दूरीमा मानुङकोट रहेको छ। दमौलीदेखि कालोपत्र र कच्चीसहित १० किलोमिटर सडक छिचोलेर पुग्न सकिन्छ।

स्कुटर, मोटरसाइकल, गाडीमा सजिलै पुग्न सकिन्छ। पैदलयात्रीले भने दमौलीदेखि करिब एक घण्टा हिँड्नु पर्छ। विशेष गरेर शुक्रबार र शनिबार बढी भिडभाड हुने गरेको छ। गत शनिबार पाँच हजारभन्दा बढी पर्यटक यहाँ आएका थिए। 

२०५२ सालतिर स्थानीयले खानेपानी अभावमा गाउँ छाडेका थिए। अहिले पनि खानेपानीको भने समस्या नै छ। पर्यटक बढेपछि गाउँ छाडेर शहर झरेका केही स्थानीय पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। बस्न र खानका लागि प्रशस्त होटल तथा खाजा घरसमेत खुलेका छन्।