हात्तीको वनभोज, खुवाइयो थरीथरीका खानेकुरा (तस्वीरहरू)

हात्ती महोत्सवमा यसपालि हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ। वनभोजमा हात्तीलाई ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै लगायतका खानेकुरा ख्वाइएको थियो।

तस्वीरहरू - नेपाल फोटो लाइब्रेरी

हात्ती महोत्सवमा यसपालि खाना महोत्सव अर्थात् हात्तीको वनभोज कार्यक्रमसमेत गरिएको छ। चितवनको रत्ननगरस्थित सौरहा चौरमा पुस १५ गतेसम्म चल्ने महोत्सवमा शनिबार हात्ती वनभोज कार्यक्रम आयोजना गरिएको हो। ३५ ओटा हात्तीलाई वनभोज गराइएको थियो। हात्तीलाई भेलीमा पकाएको चामल, ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै लगायतका खानेकुरा ख्वाइएको थियो। महोत्सवमा सरकारी र निजी गरी करिब ८० हात्ती सहभागी छन्। 

महोत्सवभर हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेसभुसा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, कलाकारको सांस्कृतिक प्रस्तुति रहेको हात्ती सहकारी संस्थाका अध्यक्ष युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड दीपेन्द्र खतिवडाले जानकारी दिए।