इलामको सल्लेरीगाउँमा पानीको हाहाकार

सल्लेरीगाउँमा ९० परिवारको बसोबास छ। बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद लागेपछि पानी अभावले सताउने गरेको छ।

इलाम– फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ। “भालेको डाकसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँदैन। पानीको जोहोमै बित्छ बिहान,” उनले भने, “जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो। बिहान अरू काम गर्न भ्याइँदैन। सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाऊँ जस्तो भएको छ।” 

सल्लेरीगाउँमा ९० परिवारको बसोबास छ। गाउँमा पानीको स्रोत नहुँदा हिउँदमा हाहाकार हुने गरेको छ। नजिकै कुवा, खोला र खोल्सा छैन। केहीले छिमेकी गाउँबाट निजी लगानीमा पाइप बिछ्याएर पानी ल्याएका छन् भने अधिकांशले गाग्रीमा ओसारेर दैनिकी चलाइरहेका छन्।

बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद लागेपछि पानी अभावले सताउने गरेको छ। “बर्खामा अकासे पानीको भर पर्नुपर्छ। हिउँद त नआए हुन्थ्यो जस्तो लाग्छ। हामी अर्को बर्खाको पर्खाइमा छौँ,” स्थानीय वेदप्रसाद पाण्डेले भने, “पल्ला गाउँमा जस्तै सबैको आँगनमा पानीको धारा भए हामी पनि ढुक्कले रोजगारीमा हिँड्न पाउँथ्यौँ। घरमै पानीको धारा बनाउने सपना पूरा नहोला जस्तो छ।”

गाउँको बीचमा कक्षा ५ सम्मको सल्लेरी प्राथमिक विद्यालय छ। विद्यालयमा एउटा धारा छ। तर धारामा पानी आउँदैन। विद्यार्थीले घरबाट बोतलमा पानी लिएर पढ्न आउँछन्। पिउन मात्र होइन, शौच गर्न पनि समस्या छ। टिफिन समयमा टाढा धाएर बालबालिकाले पानी ओसार्छन् र प्रयोग गर्छन्।

“सकेसम्म विद्यार्थीलाई पानीको अभाव हुन दिएका छैनौँ। तर, बोकेर सधैँ साध्य नहुने रहेछ। हाम्रो गाउँको मुख्य समस्या नै पानी भयो,” प्रधानाध्यापक तारादेव नेम्वाङले भने। सरकारले खानेपानीको दिगो व्यवस्थापन गरिदिनुपर्ने स्थानीयको माग छ। स्थानीय भगिरथ भण्डारीले भने, “संघीयतापछि पनि दुई पटक तीन तहको चुनाव भयो। उम्मेदवार मत माग्न घरघरमा आउनुभयो। हामीले खानेपानीको समस्या सुनायौँ। भोलि नै समाधान गरिदिने जसरी आश्वस्त पार्नुभयो। तर, समस्या ज्युँका त्युँ देखिन्छ।”

फाकफोकथुम–३ का वडाध्यक्ष दीपेन्द्र लिम्बूले यहाँको खानेपानी समस्या समाधानका लागि काम शुरू गरिएको बताए। “गत आर्थिक वर्षमा ८२ लाखमा पाँचवटा रिजर्भ ट्यांकी निर्माण गरेका छौँ,” वडाध्यक्ष लिम्बूले भने, “वडाको केन्द्र रहेको शुक्रबारे बजारमा २० लाख लिटर क्षमता भएको ट्यांकी र अन्य ठाउँमा एक–एक लाख क्षमताको ट्यांकी निर्माण भइसकेको छ। यस वर्ष पाइप विस्तारको काम हुनेछ।”

घर–घरमा पुर्‍याउने पाइपका लागि १ करोड रुपैयाँ बजेट रहेको र अब त्यो ठेक्कामार्फत अघि बढ्ने तयारी रहेको वडाध्यक्ष  लिम्बूको भनाइ छ। नसुवा गैँडे मुहान, मुगेखोला मुहान, लोखरुम्बा खोला मुहानबाट आमचोकमा खानेपानी ल्याउने तयारी छ। 

गाउँमा भएको एउटा कुवा बारेर चार परिवारले पानी पाइपमा तानेर प्रयोग गरिरहे पनि पर्याप्त छैन। स्थानीय सन्त लुंगेलीले निजी लगानीमा २० एमएमको एक क्वाइल पाइप बिछ्याएर पानी ल्याएका छन्। “बिग्रिरहन्छ, बनाउन हरेक दिन जसो जानुपर्छ। अरूको हेरी आफ्नो केही सहज जस्तो लाग्छ,” उनले भने, “गाउँमा आयस्रोत छैन। पाइप किन्न सबैले सक्दैनन्। कतिले मेरोबाट थापेर पनि लैजान्छन्। सबैलाई त पुग्दैन।” 

सल्लेरीमात्र होइन यहाँ नजिकैको आमचोक बजार र खत्री गाउँको समस्या पनि उस्तै छ। पानी अभावले खाना पकाउन, लुगा कपडा धुन, गाईवस्तुलाई खुवाउन, सरसफाइ गर्न सबैथोकमा समस्या हुने गरेको स्थानीय बताउँछन्।

खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको छ। पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय पानी भएकाले यस क्षेत्रमा स्थानीय सरकार नै जिम्मेवार बन्नुपर्ने मानवअधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए।