‘बबल र्‍याप’बाट बनाइएका महंगा पारदर्शी पोसाक

विभिन्न सामान प्याकेजिङमा प्रयोग हुने ‘बबल र्‍याप’लाई पड्काउनमा कतिपयले आनन्दसमेत लिन्छन्। त्यसैले उनीहरूले यसलाई तनाव प्रतिरोधी पोसाक भनेका छन्।

काठमाडौँ– फेसन उद्योगले नयाँपन खोजिरहन्छ। तर कहिलेकाहीँ हामीले कल्पनै नगरेका कुरालाई पनि डिजाइनमा ढालेर पोसाक तयार पार्न फेसन डिजाइनर तथा फेसन उद्योगहरू लागिरहेका हुन्छन्।

यस्तै अनौठो लाग्ने डिजाइन हो ‘बबल र्‍याप’बाट बनाइएका पोसाक। सामान प्याकेजिङमा प्रयोग हुने ‘बबल र्‍याप’को पनि पोसाक बनाइन्छ, त्यही पनि महंगो दाममा बिक्री हुन्छ। छैन त अनौठो?

बेलारुसी फेसन ब्रान्ड जेएनडब्लूआरले महिला-पुरुष दुवैका लागि भनेर ‘बबल र्‍याप’ पोसाक बजारमा ल्याएको छ। जसलाई ‘नयाँ वर्ष २०२५ का लागि जेएनडब्लूआरको जादु र आश्चर्य’ भन्दै प्रचार गरिएको छ।

यस ब्रान्डको स्टोरका साथै अनलाइनमा पनि यस्ता पोसाक बिक्रीका लागि राखिएका छन्, जसको मूल्य २८० बेलारुसी रुबेल (झन्डै १२ हजार रुपैयाँ)देखि माथि छ।

यसका कोट, गाउन, वन पिस, ज्याकेट, गलबन्दी आदि बनाइएका छन्। विभिन्न सामान प्याकेजिङमा प्रयोग हुने ‘बबल र्‍याप’लाई पड्काउनमा धेरैले आनन्दसमेत लिन्छन्।

सामाजिक सञ्जालमा राखिएका भिडियो तथा तस्वीरमा पनि मानिसहरूले हास्यास्पद र अनौठा प्रतिक्रिया जनाएका छन्। कसैले यी पोसाकलाई तनाव प्रतिरोधी पोसाक भनेका छन्।

यस ब्रान्डले ‘बबल र्‍याप’ पोसाकलाई विशेष र सीमित संस्करण शृंखला भनेको छ। जसका २० ज्याकेट र २० गाउन, वनपिसलगायत अन्य पोसाकमा उपलब्ध छन्। जेएनडब्लूआरको इन्स्टाग्राममा यो संग्रहलाई अधिक परम्परागत मखमली र साटन पोसाकको विकल्पका रूपमा नयाँ र फरकपन रहेको भन्दै वर्णन गरेको छ।