नागार्जुनका नगरप्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

अख्तियारले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध १३ करोड १२ लाख रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपपत्र दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता नरहरि आचार्यका अनुसार अनुसन्धानका क्रममा उनले गैरकानूनी रूपमा जग्गा तथा रकम प्राप्त गरेको, प्राप्त जग्गा बिक्री गरी सम्पत्ति शुद्धीकरण गरेको पाइएपछि उनीविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर भएको हो। आयोगले नगरप्रमुख बस्नेतको श्रीमती उर्मिला बस्नेत र पद्मा मर्चेन्टका सञ्चालक राजुप्रसाद कँडेललाई पनि प्रतिवादी बनाएको छ।

बस्नेतले श्रीमती उर्मिलासँगको मिलेमतो तथा योजनामा पदको दुरुपयोग गरी नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बराबर घुस पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा उक्त कम्पनीका सञ्चालक/अध्यक्ष कँडेलबाट लिएको अनुसन्धानका क्रममा पुष्टि भएको आयोगले दाबी गरेको छ। 

आयोगका अनुसार सम्पत्तिको गैरकानूनी स्रोत लुकाउन उनले ऋण भुक्तानी, उर्मिलाको नाममा रहेको जग्गामा घर निर्माण, विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरेका थिए। आयोगले उनीहरूविरुद्ध १३ करोड १२ लाख रुपैयाँ बिगो कायम गरेर अभियोग पत्र दायर गरेको हो।