हुम्लामा ३ दिनयता निरन्तर हिमपात

हुम्लामा लगातार तीन दिनसम्म हिमपात हुँदा सडक यातायात, हवाई उडानका साथै स्थानीयको दैनिक कामकाज प्रभावित भएको छ।

हुम्ला– हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ।

लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक कामकाज प्रभावित भएको छ। हिमपातपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी दिए।

“गाई झोपा र जुमागोठभित्रै छन् भने चौँरी गाई छाडा भएका छन्। एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठ्यारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ”, उनले भने।

सिमकोट हुने सबै हवाई उडान बन्द भएको सिमकोटस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ। चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबालिका आगो तापेर बस्न थालेका छन्। यस वर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेका स्थानीय बताउँछन्।