मकवानपुरमा ‘ब्रेक फेल’ भई जिप सडकबाट खस्दा १ जनाको मृत्यु

मकवानपुरको राक्सिराङ–५, चाक्ले बगरमा ‘ब्रेक फेल’ भई जिप सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको छ।

प्रतीकात्मक तस्वीर

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मनहरिबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २९४६ नं को जिपको ‘ब्रेक फेल’ भई सडकबाट झन्डै चार मिटर तल खस्दा कैलाश गाउँपालिका–३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरी अस्पतालमा मृत्यु भएको हो। उक्त जिपमा आठ जना सवार थिए। अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ। जिप चालक फरार रहेका छन्।

गैँडाको आक्रमणबाट मृत्यु
चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन्।

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो। 

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ।