राष्ट्रिय किताबखानाका शाखा अधिकृत ३ लाख घुससहित अख्तियारको नियन्त्रणमा

राष्ट्रिय किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

काठमाडौँ– काठमाडौँको छाउनी मार्ग तहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले आइतबार शाखा अधिकृत धनेश्वर प्रसाईंलाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो।

प्रसाईंले पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको आयोगमा उजुरी परेको थियो। त्यसपछि आयोगको टंगालस्थित कार्यालयबाट टोली खटिएको थियो।

सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा घुस रकमसहित प्रसाईंलाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। आयोगले प्रसाईंमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।