नेपालको वर्तमान उत्पादन अवस्थाको विश्लेषण गर्दा २० रोपनी जमिनमा ३० देखि ५० टन ताजा चुकन्दर उत्पादन गर्न सकिन्छ। यसबाट सरदर ४६ देखि ७५ क्विन्टल चिनी उत्पादन सम्भव छ।
गत वर्ष विश्वमा दुई अर्ब २० करोड टन उखु उत्पादन भएको संयुक्त राष्ट्रसंघको तथ्यांक छ। विश्वमा चिनीको स्रोतमध्ये उखुले प्रमुख भाग ओगटेको छ भने दोस्रोमा गुलियो चुकन्दर पर्छ। गुलियो चुकन्दर अथवा सुगर बिट चिनीको असल स्रोत मानिन्छ। हाल विश्वमा उत्पादन हुने चिनीमध्ये १६ प्रतिशत चुकन्दरबाट उत्पादन हुन्छ। चुकन्दर उत्पादनमा अमेरिका तथा युरोपेली मुलुक अग्रपंक्तिमा छन्। फ्रान्स, जर्मनी र अमेरिका चुकन्दरका ठूला उत्पादक हुन्। प्रतिहेक्टर जमिनमा औसत ५८ टन चुकन्दर उत्पादन गर्न सकिन्छ। तर चिलीमा भने प्रतिहेक्टर ८७ टनसम्म उत्पादन भएको विश्व खाद्य तथा कृषि संगठन (एफएओ)को तथ्यांक छ। उसका अनुसार हाल विश्वमा करिब पाँच करोड हेक्टर जमिनमा खेती गरी वार्षिक २३ करोड ५० लाख मेट्रिक टन चुकन्दर उत्पादन गरिएको तथ्यांक छ।
पहाडका लागि यो किन उपयुक्त छ?
चुकन्दर उत्पादनका लागि बढीमा २५ डिग्री आसपासमा तापक्रम हुनुपर्छ। खासगरी राति १५ देखि २० डिग्री र दिउँसो २० देखि २५ डिग्री सेल्सियस तापक्रम हुँदा चिनीको मात्रा बढी हुन्छ। ३० डिग्रीभन्दा बढी तापक्रम भएको स्थानमा यसको उत्पादन राम्रो हुँदैन। तर बिउ उम्रने बेलाको तापक्रम पाँचदेखि सात डिग्री सेल्सियस उपयुक्त मानिन्छ। त्यसैले पनि पहाडका लागि यो कन्दमूल उपयुक्त छ।
त्यस्तै, यसको बिउ उत्पादनका लागि खेती गर्दा फूल फुल्ने बेलामा वातावरणको तापक्रम चार डिग्री हुन आवश्यक छ। पानी कम पर्ने माथिल्लो पहाड तथा तल्लो हिमाली क्षेत्रको भिरालो जमिनमा समेत यो चुकन्दर उत्पादन गर्न सकिन्छ। सामान्यतया रोपेको १६० दिनदेखि २०० दिनमा यो कन्दमूल तयार हुन्छ। कच्चा पदार्थको तौलको १५ देखि २१ प्रतिशत चिनी उत्पादन गर्न सकिन्छ। १०० केजी ताजा गानोबाट १५ देखि २१ केजी चिनी निस्कन्छ। एउटा गानो नै ५०० ग्रामदेखि एक केजीसम्मको हुन्छ। एउटैबाट १०० देखि १५० ग्राम चिनी उत्पादन हुन्छ।
यस चुकन्दरमा ७५ प्रतिशत पानी हुन्छ। २५ प्रतिशत ठोस पदार्थ हुन्छ। ठोस पदार्थको ७५ प्रतिशतसम्म चिनी निस्किन्छ। समग्रमा भन्नुपर्दा ताजा कन्दमूलको तौलको २० प्रतिशत जति चिनी निस्किन्छ। यसको प्रशोधन गर्दा निस्कने लेदो पनि पशुपक्षीको आहारामा उपयोग गर्न सकिन्छ। सामान्य हिसाबमा एक मेट्रिक टन ताजा गुलियो चुकन्दरबाट १६० केजी चिनी, ५०० केजी पशुदानाका लागि प्रयोग हुने लेदो र ३० केजी खुदो निस्किन्छ।
विश्वका नौ वटा देशमा उखु र चुकन्दर दुवैबाट चिनी निकालिन्छ। यदि नेपालमा यसको खेती गरिए यो दशौँ देश बन्छ। ४३ देशले चुकन्दरबाट मात्र चिनी निकाल्छन् र ७१ वटा देशले उखुबाट मात्र चिनी उत्पादन गर्दछन्। खासगरी उखुका लागि तातो जलवायु आवश्यक पर्छ भने चुकन्दरका लागि चिसो। नेपालको सन्दर्भमा भने तराई र पहाडका खोचमा उखु र माथिल्लो पहाड तथा हिमालमा गुलियो चुकन्दर खेती गर्न सकिन्छ। सामान्यतया चुकन्दरका तुलनामा उखु खेतीमा चार गुणा बढी पानी लाग्ने भएकाले दुवै किसिमको जलवायु भएका मुलुकले उखुको उत्पादन घटाइ चुकन्दरको उत्पादन बढाएका छन्। उदाहरणका रूपमा इजिप्ट उभिएको छ। उखुबाट चिनी निकाल्न लामो समय लाग्छ भने चुकन्दरबाट चिनी निकाल्न कम समय लाग्छ। चुकन्दर उद्योग वर्षमा सरदर तीन महिना चल्छ, तर उखुबाट चिनी बनाउने उद्योग भने पाँच महिनासम्म चल्छ।
नेपालको वर्तमान उत्पादन अवस्थाको विश्लेषण गर्दा एक हेक्टर अथवा २० रोपनी जमिनमा ३० देखि ५० टन ताजा चुकन्दर उत्पादन गर्न सकिन्छ। यसबाट सरदर ४६ देखि ७५ क्विन्टल चिनी उत्पादन सम्भव छ। मध्य पहाडी राजमार्ग आसपासमा पर्ने गाउँहरूलाई समेटेर यसको खेती गर्नाले उद्योग स्थापना गर्न पनि सजिलो हुन्छ।
हुन त 'अमेरिकी हृदय संघ'ले मानिसले खाद्य वस्तुबाट प्रशस्त चिनी प्राप्त गर्ने हुनाले चिनी खाइरहन नपर्ने जनाएको छ। तर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भने मानिसको दैनिक खाद्य पोषणमा पाँच प्रतिशतसम्म चिनी आवश्यक पर्छ।
नेपालका आपूर्ति प्रशासकको भनाइअनुसार देशलाई वार्षिक तीन लाख मेट्रिक टन चिनी आवश्यक पर्छ। यसमध्ये करिब एक लाख मेट्रिक टन स्वदेशमा उत्पादन हुन्छ। भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतलगायत मुलुकबाट करिब पाँच लाख ७२ हजार केजी मिस्री र करिब डेढ लाख केजी चिनी खरिद गरेको थियो। सोही अवधिमा ५२२ केजी चुकन्दर या उखुबाट बनेको गुलियो वस्तु र एक करोड २५ लाख केजी सख्खर आयात गरिएको थियो। यसैगरी, उक्त अवधिमा भारतबाट एक लाख १५ हजार केजी उखुसमेत आयात गरेको थियो।
एफएओको तथ्यांकअनुसार नेपालले सन् २०२२ मा ३२ लाख टन उखु उत्पादन गरेको थियो। त्यसको अघिल्लो वर्ष एक लाख २० हजार केजी चिनी उत्पादन भएको तथ्यांक पाइन्छ। दुःखको कुरा, नेपाल सरकारको तथ्यांक विभागसँग भने आधिकारिक तथ्यांक छैन। कृषि गणना २०७८ मा उखुखेतीबारे खासै खुलाइएको छैन। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सन् २०२२ सम्म नेपालमा ६२ हजार हेक्टर जमिनमा उखुखेती गरी ३१ लाख टन उखु उत्पादन भएको तथ्यांक छ।
भन्सारकै तथ्यांक हेर्ने हो भने पनि नेपालमा चिनी तथा सख्खरको ठूलै बजार छ। खासगरी पशुपन्छीको दानामा खुदोको प्रयोग गरिन्छ। मानिसबाहेक पशुपन्छीका लागि पनि सख्खर प्रयोग हुन्छ। पशुदानामा ६ प्रतिशतसम्म खुदोको प्रयोग गर्न सकिन्छ। तथ्यांकअनुसार नेपालमा दैनिक तीन हजार टन पशुपन्छीको दाना खपत हुन्छ। यसको ६ प्रतिशत खुदोको मात्रा हिसाब गर्ने हो भने पनि दैनिक १८० टन खुदो आवश्यक पर्छ। वर्षमा करिब ६५ हजार टन खुदो खर्च हुन्छ। भन्सार विभागले राजस्वका लागि तोकेको गुड (सख्खर)को मूल्य ४० रुपैयाँ ५५ पैसा छ। यसैलाई आधार मानेर हिसाब गर्ने हो भने नेपालमा करिब दुई अर्ब ६० करोड रुपैयाँ त सख्खरमा मात्र खर्च हुन्छ। दानामा प्रयोग हुने सख्खरको मात्र यति ठूलो व्यापार हुन्छ। अझ मानिसले खाने सख्खरको हिसाब फरक छ।
यो सबै सख्खर नेपालमा गुलियो चुकन्दरबाट उत्पादन गर्न सकिन्छ।
सामान्यतया एक टन चुकन्दरबाट १६० केजी खुदो तयार हुन्छ। भन्सारकै हिसाबमा पनि ६ हजार त कमाइ भयो। गुलियो चुकन्दरबाट खुदो बनाउन सजिलो छ। यसलाई पेल्नुपर्दैन। सफा गरिएको चुकन्दरलाई स–साना टुक्रा काटेर पानीमा उसिनेर खुदो बनाउन सकिन्छ।
गुलियो चुकन्दरबाट मादक पदार्थ पनि उत्पादन गर्न सकिन्छ। यो पनि एउटा कमाइको आधार बन्न सक्छ। यदि यसलाई सरकारले उपयुक्त कानूनी आधार तयार पारिदिए घरेलु मदिराको बजार व्यवस्थापन पनि गर्न सजिलो पर्दछ। अझ उद्योग नै स्थापना भए त अझ राम्रो भयो। युवा जनशक्ति बसाइँसराइ र बिदेसिँदै गर्दा उपल्लो पहाड रित्तिँदै गएका बेला त्यसको भरथेग गर्न यस्ता सिर्जनशील विषयमा सोच्न सकिन्छ।
(ओझाले कृषि सञ्चारमा विद्यावारिधि गरेका छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
