यस्तो छ सोमबारको मौसम पूर्वानुमान

दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावना रहेको छ भने पहाड र तराईका भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावना रहेको छ भने पहाड र तराईका भूभागमा सामान्यतया मौसम सफा रहनेछ। यस्तै,आज राति कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हिउँ पर्नेछ भने पहाड र तराईमा  सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टामा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।