हिमपातपछिको रारा (तस्वीरहरू)

हिउँदयाम शुरू भएपछि निरन्तरजसो हुने हिमपातसँगै झन् आकर्षक देखिन्छ रारा।

काठमाडाैँ– कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो। हिउँदयाम शुरू भएपछि यहाँ निरन्तरजसो हुने हिमपातले चाँदी झैं टल्किन्छ रारा। हिमपातपछि झन् आकर्षक देखिन्छ यो ताल।

रारा समुद्र सतहदेखि २ हजार ९७२ मिटर उचाइमा अवस्थित छ। सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि यस तालमा पुगिन्छ।

१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर छ भने गहिराइ १६७ मिटर छ। यो ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्त्वलाई समेत दर्शाउँछ।

प्रकृतिको उपहारको रूपमा शृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली र त्यहाँ पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्‍याएका छन्।

तस्वीरहरू: नेपाल न्युज बैंक