कंगोमा बाढी र पहिरोमा परी १२० जनाको मृत्यु

विपद्पछि सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य जारी छ। जलवायु परिवर्तनका कारण कंगोमा आकस्मिक बाढीको जोखिम बढिरहेको बताइएको छ।

तस्वीर : रोयटर्स

मध्य अफ्रिकी मुलुक कंगोको राजधानी किन्शासामा भीषण वर्षापछिको  विनाशकारी बाढी र पहिरोमा परी १२० जनाको मृत्यु भएको छ। केही बेपत्ता भएका छन् भने कैयौँ घाइते भएका छन्। पहाडी क्षेत्रमा गएको पहिरोमा परी ज्यान गुमाउनेहरू धेरै छन् भने केहीको घरहरू भत्किएर च्यापिँदा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

निरन्तरको वर्षाले किन्शासा शहरको मुख्य क्षेत्र डुबानमा परेको छ भने थुप्रै घर भत्किएका छन्। आसपासका क्षेत्रमा पनि भलबाढीले घर र सडक संरचना क्षतिग्रस्त छन्। राजधानी र मुख्य तटीय क्षेत्र मतादी जोड्ने राजमार्ग एनवानमा बढी क्षति पुगेको छ। यो सडक थप केही दिन अवरुद्ध हुने कंगोको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रका स्थानीय ब्लानचार्ड मुबुले भने, “म सुतिरहेको थिएँ। अकस्मात घरभित्र पानी पसेको थाहा पाएँ। यस विपद्का कारण हामीले सबै सम्पत्ति गुमायौँ। बाढीले सर्वस्व बगायो, केही बचाउन सकिएन। यति ठूलो बाढी यस क्षेत्रमा अहिलेसम्म देखेका थिएनौँ।”

कंगोको विपद्पछि सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। कंगोका प्रधानमन्त्री जीन मिचेल समा लुकोन्दे मंगलबार बाढी प्रभावित क्षेत्रमा पुगेका थिए। बाढीमा बेपत्ता भएकाहरूको खोजी भइरहेको बताइएको छ।

मंगलबार मात्रै कंगोका राष्ट्रपति फेलिक्स शिसेकेदीले बाढीको प्रमुख कारक जलवायु परिवर्तन भएको भन्दै यसमा अमेरिका जिम्मेवार रहेको आरोप लगाएका थिए।

अमेरिकाको वासिंटनमा भएको अमेरिका-अफ्रिका सम्मेलनका क्रममा राष्ट्रपतिले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँगको भेटमा भनेका थिए, “कंगो दबाबमा छ। तर, हाम्रो कुरा सरोकारवाला कसैले सुन्दैनन्। हामी केही समययता ठूला देशहरूसँग असहमत भइरहेको उदाहरण नै बाढी हो। त्यसैले प्रभावित मुलुकलाई जलवायु परिवर्तनमा मुख्य जिम्मेवार मुलुकले सहयोग गर्नुपर्छ।”

कंगोमा भीषण बाढी आएका कारण राष्ट्रपति अमेरिकी भेटघाट छोट्याएर मुलुक फिर्ता हुनसक्ने राष्ट्रपतिका प्रवक्ताले बीबीसीलाई बताएका छन्। यसअघि सन् २०१९ को नोभेम्बरमा राजधानी किन्शासा आएको बाढी र पहिरोमा परी ४० जनाको मृत्यु भएको थियो।

कंगो नदी किनारमा अवस्थित किन्शासा शहरमा पछिल्लो समय जनसंख्या बाक्लिँदै गएको छ। त्यहाँ १ करोड ५० लाख मानिसको बसोबास रहेको यो शहरले उचित ढल निकासको समस्या झेल्दै आएको छ। जसका कारण वर्षात्का समयमा आकस्मिक बाढीको जोखिम बढाएको बताइएको छ।