युक्रेनलाई २.५ अर्ब डलरको सुरक्षा सहायता उपलब्ध गराउने अमेरिकाको घोषणा

अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ।

फाइल तस्वीर

अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ। राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअगावै वासिङ्टनले किभलाई सहायता प्रदान गर्न लागेको हो।

गत नोभेम्बर भएको निर्वाचनमा ट्रम्प राष्ट्रपतिमा विजयी भएपछि आगामी दिनमा युक्रेनका लागि अमेरिकी सहायताबारे शंका उत्पन्न गराएको छ। उनले शपथ ग्रहण गर्नुपहिले नै स्वीकृत गरिएको अर्बौं डलरको सहायता वितरण गर्न सीमित समय प्रदान गरेको छ।

सोमबार घोषणा भएको सहायतामा एक अर्ब २५ करोड डलरको सैन्य ‘ड्रडाउन प्याकेज’ छ, यसले पेन्टागनलाई अमेरिकी भण्डारबाट हतियार शीघ्र युद्धभूमिमा पठाउन अनुमति दिन्छ।

अर्को एक अर्ब २२ करोड डलरको प्याकेजबाट युक्रेन सुरक्षा सहायता पहलमार्फत वित्त पोषण गरिनेछ। यसअन्तर्गत रक्षा उद्योग वा साझेदारबाट सैन्य उपकरण खरिद गरिन्छ। 

“युक्रेनी जनताले रूसी आक्रमणबाट आफ्नो स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न जारी राख्दै गर्दा आज म युक्रेनलाई करिब दुई अर्ब ५० करोड डलर सुरक्षा सहयोगको घोषणा गर्न पाउँदा गर्व गर्दछु”, राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमा भनेका छन्। 

अमेरिकी विदेश मन्त्रालयको छुट्टै विज्ञप्तिअनुसार रक्षा मन्त्रालयको भण्डारबाट गरिने ड्रडाउनमा ड्रोन, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (हिमार्स)का लागि गोलीगठ्ठा, अप्टिकली गाइडेड मिसाइल, एन्टी–ट्यांक हतियार प्रणाली, हवाई–जमिन गोलाबारुद र पार्टपुर्जा समावेश हुनेछन्।

“संयुक्त राज्य अमेरिका र ५० भन्दा बढी राष्ट्र युक्रेनसँग रुसको आक्रमणविरुद्ध आफ्नो रक्षा गर्न आवश्यक क्षमता प्राप्त होस् भनी सुनिश्चित गर्न एकजुट छन्”, विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भने। 

बिदाइ हुन लागेको बाइडेन प्रशासनले ट्रम्प जनवरीमा सत्तामा आउनुअघि युक्रेनलाई सकेसम्म धेरै सहायता प्रदान गर्न खोजिरहेको छ। ट्रम्पले बारम्बार किभका लागि अमेरिकी सहायताको आलोचना गरेका छन्। उनले आफू केही घण्टामै युद्धविराम सुरक्षित गर्न सक्ने दाबी गर्दै आएका छन्।