इंग्लिस प्रिमियर लिग: इपस्विच टाउनसँग चेल्सी पराजित

चेल्सी ३५ अंकसहित तालिकाको चैथोस्थानमा झरेको छ। यो शीर्षमा रहेको लिभरपुलसँग १० अंकको दूरी हो।

काठमाडौँ– लियाम डेलापको उत्कृष्ट प्रदर्शनमा इप्सविच टाउनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ। 

सोमबार इपस्विचको घरेलु मैदानमा भएको खेलमा चेल्सी २–० ले पराजित भएको हो। इपस्विचका २१ वर्षीय खेलाडी डेलापले १२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। 

५३औँ मिनेटमा ओमारी हुट्चिन्सनले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि गोल हुन नसक्दा चेल्सी पराजित हुन पुग्यो। चेल्सी लिगमा लगातार तेस्रो खेलमा जितविहीन छ। 

चेल्सी ३५ अंकसहित तालिकाको चैथो स्थानमा छ। यो शीर्षमा रहेको लिभरपुलसँग १० अंकको दूरी हो। इपस्विच १५ अंकसहित १८औँ स्थानमा छ। 

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा न्युकासल युनाइटेडसँग २–० को हार बेहोर्‍यो।