सन् २०२४ मा नेपाल भित्रिए ११ लाख ४७ हजार पर्यटक

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए। कोरोना महामारीपछि यस वर्ष सबैभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

काठमाडौँ– सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। मंगलबार बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। 

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएको बताउँदै  सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले  पर्यटक आगमन बढेको  जानकारी दिए। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए। कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो। सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो। 

राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लुटीओ) को पछिल्लो ६ महिनाको तथ्यांकअनुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ। 

नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका  मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको बोर्डले जनाएको छ।