गोलभेँडा बेचेर वार्षिक ७ लाख मुनाफा, १० जनालाई रोजगारी

घोराही–१२ हापुरका जयबहादुर रोकाले तीन बिघा जग्गा भाडामा लिएर गोलभेँडाखेती गरिरहेका छन्। गोलभेँडा बिक्रीका लागि बजारको कुनै समस्या नभएको उनको भनाइ छ।

घोराही– दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा लटरम्मै टमाटर पाकेको छ। बारीबाटै टमाटर बिक्री गर्न भ्याइ नभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आउनुभएका रोका व्यवसायप्रति सन्तुष्ट छन्। 

भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन्। “यस वर्ष समयमै उत्पादन गरेकाले  बजारको समस्या छैन,” उनले भने, “यही खेतीलाई निरन्तरता दिने सोचमा छु।” रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रूपमा काम गरे। पहिले १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका थिए। उनी टमाटर बिक्री गरेर खर्च कटाएर वार्षिक ७ लाख रुपैयाँ बचत गर्न सफल भएका छन्। 

वार्षिक १८ लाख रुपैयाँको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ। “१० जनालाई रोजगारी दिएको छु,”  रोकाले भने, “पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ। तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो।” 

मंसिरसम्म थोकमा प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए। तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गरेका छन्। आफ्नो  १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले सुनाए। जग्गाको वार्षिक भाडा ९८ हजार रुपैयाँ तिर्ने गरेका छन्। 

परिवारमा आठ सदस्य छन्। टमाटरखेतीकै कमाइले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेका छन्। गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा बेहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनले बताए।