नेप्से परिसूचक ३३ अंकले घट्यो, ५ अर्ब ६७ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक १.२६ प्रतिशतले घटेर २५७६.५० को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३३ अंकको गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक ३३.०८ अंक अर्थात् १.२६ प्रतिशतले घटेर २५७६.५० को विन्दुमा कायम भएको हो।

मंगलबार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। यस दिन विभिन्न ३०८ कम्पनीका एक करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयर ६९ हजार ९२७ पटक खरिदबिक्री भयो। जसबाट पाँच अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो कारोबार दिन आइतबार पाँच अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा अन्य समूहको उपसूचक ०.०६ प्रतिशत बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। मंगलबारको कारोबारमा वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ।

वित्त समूहको उपसूचक सर्वाधिक ५.१९ प्रतिशतले घटेको हो। त्यसपछि विकास बैंक समूहको उपसूचक २.७७ प्रतिशत र व्यापार २.९७ प्रतिशतले घटेको छ।

त्यस्तै, बैंकिङ ०.९२, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१, म्युचुअल फन्ड ०.३८ र निर्जीवन बिमा ०.९५ प्रतिशतले घटेको छ।

मंगलबार सपोर्ट माइक्रो फाइनान्स,  जानकी फाइनान्स र पोखरा फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ। त्यस्तै, नारायणी डेभेलपमेन्ट बैंक ९.९९ र गुहेश्वरी मर्च्यान्ट बैंकका लागनीकर्ताले ९.३४ प्रतिशतले गुमाएका छन्। सबैभन्दा धेरै नाडेप लघुवित्तको शेयर मूल्य ४.०१ प्रतिशतले बढेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ३५ करोड ९४ लाख ९२ हजार ३४ रुपैयाँ बराबरको १५ लाख आठ हजार ५५७ कित्ता शेयर किनबेच भएको छ।