पन्चेबाजा संरक्षणमा बागलुङका आमा समूह

युवाशक्ति पलायन भएपछि संकटमा पर्न थालेको पन्चेबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ। अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन्। 

ढोरपाटन– परियार समुदायको पुर्ख्यौली पेसाका रूपमा पन्चेबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन्। गाउँ तथा शहरमा बिस्तारै पन्चेबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन्। 

युवा शक्ति विदेश पलायन भएपछि संकटमा पर्न थालेको पन्चेबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ। अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन्। 

पन्चेबाजा बजाउने चलन लोप हुन थालेपछि महिलाहरू यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताइन्। विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरूले बजाउन थालेको उनको भनाइ छ। पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उनले उल्लेख गरिन्।

“अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ। नयाँ पुस्ता विद्यालय सकाएपछि विदेश नै जान हतारिन्छन्। बुढापाकाले बजाउन सक्दैनन्। टोल छिमेकमा कसैको बिहे, व्रतबन्ध, पास्नी हुँदा बाजा बजाउनै छोडेको हुँदा दिदीबहिनीहरू मिलेर पन्चेबाजा बजाउन थालेका हौँ,” उनले भनिन्, “शुरूमा सिक्न केही समय लाग्यो। अहिले सबैले सिकेपछि ठाउँ–ठाउँमा बजाउन जाने गरेका छौँ।”

दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरूले अहिले यसैबाट आम्दानीसमेत गर्न थालेका छन्। सुरुमा गाउँका पन्चेबाजा समूहबाट सिकेका उनीहरूले रु एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिक रूपमा बजाउन थालेका हुन्। एउटा विवाहबाट ३० हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेको पन्चेबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिइन्। विवाहको याममा बागलुङका ग्रामीण क्षेत्रदेखि शहरसम्म बाजा बजाउन जाने गरेको उनको भनाइ छ।

“अहिले ५० जनाभन्दा बढी दिदीबहिनीहरूले पन्चेबाजा बजाउने गर्छौं,” उनले भनिन्, “अब सिक्न चाहनेलाई पनि सिकाउन सकिन्छ। हामीलाई मसिर र माघमा भ्याइ नभ्याइ हुन्छ। यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ।”