उमाकुण्ड गाउँपालिकाले लगायो नदीजन्य पदार्थ उत्खननमा रोक

जलविद्युत् आयोजनाले जथाभाबी रूपमा नदीजन्य पदार्थ ढुंगा र बालुवा उत्खनन गरेको भन्दै रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ। 

रामेछाप– लिखु खोलामा सञ्चालित जलविद्युत् आयोजनाले जथाभाबी रूपमा नदीजन्य पदार्थ ढुंगा र बालुवा उत्खनन गरी वातावरणलाई प्रभाव पारेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ। 

गाउँ कार्यपालिकाको पुस १५ गते बसेको बैठकले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार नहुँदासम्म उमाकुण्ड गाउँपालिकाअन्तर्गत लिखु नदीमा ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणका लागी रोक लगाउने निर्णय गरेको हो। 

यसविपरीत ढुंगा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण गरेको पाइए बागमती प्रदेश सरकारको आर्थिक ऐन, २०८१ बमोजिम जरिबाना हुने गाउँपालिकाले जनाएको छ। 

लिखु नदीमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाले प्राकृतिक श्रोतको दोहन गरेको पालिकाले जनाएको छ। नदीको पानी सुकाएर ड्याममा फर्काउँदा लिखुका जलचर नष्ट भएका छन्। गौरीशंकर आरक्षण क्षेत्रका जंगली जनावर पानी पिउनबाट समेत वञ्चित भएका छन्।