अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्स मात्र हुन्छन्, १६ वर्ष एक्लै किचनमा लडेर सेफको ठाउँमा आइपुग्न सफल भएकी छन् भोजकुमारी साह।
काठमाडौँ– नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ्स रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफको रूपमा नेतृत्व गर्छिन्।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित भेटघाट चोकमा जन्मिएकी कार्यकारी सेफ्स भोजकुमारी साहले पछिल्लो एक महिनादेखि ठमेलस्थित अमेरिकी चेन होटल रमदा ईन्कोर काठमाडौँको किचनको नेतृत्व सम्हालेकी हुन्। उनी रमदाको कन्टिनेन्टल सेफ हुन्।
विसं २०४३ मा बुबा विश्वनाथ साह र आमा शान्तिदेवी साहको ज्येष्ठ सुपुत्रीका रूपमा जन्मिएकी साहले स्कुल शिक्षा सुनसरीस्थित पाथिभरा इङ्लिस बोर्डिङ स्कुलबाट पूरा गरिन्। आफ्नो परिवार व्यापार–व्यवसायमा आबद्ध भए पनि उनी भने सेफ्स पेसामा आबद्ध भइन्।
गुड सेफर्ड इन्स्टिच्यूट अफ हस्पिटालिटी म्यानेजमेन्ट कालिङपोङ दार्जिलिङबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा र इन्डियन स्कुल अफ बिजनेस म्यानेजमेन्ट कलेज जयपुरबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरेकी साहले सन् २००६ देखि सेफ पेसा शुरू गरेकी हुन्।
“मलाई बुबाआमाले नर्स पढ्न आग्रह गर्नुभएको थियो, मलाई नर्स पढ्न मन नलागेर होटल म्यानेजमेन्ट पढेको हुँ, होटल म्यानेजमेन्ट पढ्न भने मलाई दाजुको साथ र सहयोग थियो”, उनले भनिन्। आफूले पढ्ने बेलामा होटल म्यानेजमेन्ट पढ्ने महिलाको सङ्ख्या एकदमै कम भएको उनको भनाइ छ।
साहले सन् २००६ मा भारतको गोवास्थित द ललित होटलमा सेफ्ससम्बन्धी इन्टर्नसीप गरेकी हुन्। इन्टर्नसीपसँगै द पार्क होटल बिशाखापट्टनम भारत, नोभोटेल होटल हैदराबाद भारत, अमनबाग होटल जयपुर भारत, द लोधी होटल नयाँदिल्ली भारत, जानुमा प्यालेस भोपाल भारत, अलनादा रिजर्ट एण्ड स्पा ओमान, सेन्टर प्वाइन्ट होटल एन्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा काम गरेको अनुभव उनीसँग छ।
सेन्टर प्वाइन्ट होटल एन्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा भने साहले कार्यकारी सेफको रूपमा नै काम गरेकी थिइन्। “अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्स मात्र हुन्छन्, म विगत १६ वर्षदेखि एक्लै किचनमा लडेर यो ठाउँमा आइपुगेको हुँ, म मेरो पेसा र कामप्रति पूर्ण सन्तुष्ट छु, मलाई समाजमा कार्यकारी सेफ हुँभन्दा गर्वको अनुभूति हुन्छ”, उनले भनिन्।
कोरोनाको समयसँगै काठमाडौँ महानगरपालिका–१६ ठमेलमा दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना भएको रमदामा हाल ९० कोठा रहेका छन्। नौ तले होटलभित्र दुईवटा रेस्टुराँ, स्पा, स्विमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल छन्।
होटलका महाप्रबन्धक महेश फुयाँल रमदा होटलले दुईवटा रेस्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खाने कुरा प्रदान गर्दै आएको बताउँछन्। “एउटा रेस्टुराँमार्फत स्पेनिस, अरेबिक, टर्किस, मोरक्कन र अर्को रेस्टुराँमार्फत पानेसियन र इन्डियनलगायतका खाना प्रदान गर्दै आएका छौँ”, उनी भन्छन्।
नेपाली सेफ्सको छाता संस्था सेफ्स एसोसिएसन अफ नेपालमा हाल एक हजार पाँच सय सेफ्स आबद्ध छन्। विसं २०५३ मा स्थापना भएको एसोसिएसनले नेपाली सेफ्सको हक, हित र अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ।
एसोसिएसनका अध्यक्ष श्यामबहादुर लामा सेफ्समा आबद्ध एक हजार पाँच सय सेफ्समध्ये जम्मा १५ जना मात्र महिला सेफ्स आबद्ध भएको बताउँछन्। महिला सेफ्स एसोसिएसनमा आबद्ध कुल सेफ्स सङ्ख्याको एक प्रतिशत मात्र हो।
“एसोसिएसनमा आबद्ध महिला सेफ्स नेपाली रेस्टुरेन्ट र तारे होटलको सुसेफका रूपमा काम गर्ने गरेका छन्, कार्यकारी सेफ्स अहिलेसम्म कोही महिला सेफ भएका छैनन्”, उनी भन्छन्।
ग्लोबल नेप्लीज सेफ्स फेडेरेसनका अध्यक्ष एवं वरिष्ठ सेफ लक्ष्मणप्रसाद भण्डारी पछिल्लो समय नेपाली महिला सेफ नेपाली तारे होटलको कार्यकारी पदमा आउनु नेपाली सेफ्सका लागि गर्वको कुरा भएको बताउँछन्। आगामी दिनमा महिलालाई सेफमा अगाडि बढाउन सेफसम्बन्धी संस्थाले काम गर्नुपर्ने उनको भनाइ छ।
होटल एसोसिएसन अफ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत टेक महत नेपाली तारे होटलमा नेपाली महिला सेफको सङ्ख्या एकदमै न्यून रहेको बताउँछन्। “नेपाली होटलमा विदेशी महिला सेफले काम गरे पनि नेपाली महिला भने कार्यकारी सेफ बनेको पाइँदैन”, उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
