नेप्सेमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार

आज तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ। नेप्सेमा आज कारोबारको रकम न्यून रहनुको कारणबारे नेप्सेले नयाँ वर्ष लागेर यस्तो भएको हुनसक्ने जनाएको छ।

आज नेप्से परिसूचक ५.१० अंकले बढेर २,५८१.६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो। आज ३०९ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता शेयर ४३ हजार ७२९ पटक खरिदबिक्री हुँदा तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो।

मंगलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ। वित्त समूह ३.८७, विकास बैंक १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ। त्यस्तै, होटल तथा पर्यटन ०.९५, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बिमा ०.२२ र व्यापार समूह ०.६३ प्रतिशतले बढको छ।

अरु समूहको उपसूचकमा भने गिरावट देखिएको छ। बैंकिङ ०.७२, जीवन बिमा ०.०६, लघुवित्त ०.१६, म्युचुअल फन्ड ०.१७ र अन्य समूह ०.४१ प्रतिशतले घटेको हो।

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ८२ लाख १७ हजार ३४९ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सन्राइज ब्लुचिप फन्डको १७ लाख ३४ हजार ५८९ कित्ता शेयर किनबेच भएको छ।