अमेरिकाको न्यु अर्लिन्समा गाडीले किचेर १० जनाको मृत्यु, दर्जनाैँ घाइते

यो घटना आतंकवाद प्रेरित हो/होइन भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

अमेरिकाको न्यु अर्लिन्समा बुधबार गाडीले मानिसहरूको भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। यो घटना न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्र बोर्बोन स्ट्रिटको हो।

न्यु अर्लिन्स आपत्कालीन तयारी कार्यक्रम (एनओएलए रेडी)ले एक विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको छ। आपत्कालीन अधिकारीहरूले घटनाको समय भने उल्लेख गरेनन् तर फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ।

अमेरिकी सञ्चार माध्यम सीबीएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ। यद्यपि यो घटना आतंकवाद प्रेरित हो/होइन भन्नेमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ।

शहरमा बुधबार राति सुगर बाउल कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको थियो। यसमा देशभरबाट हजाराैँ मानिस उपस्थित हुने गर्छन्।