झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुंगे पुलमा पर्यटकको घुइँचो लाग्न थालेको छ। भारतको सिक्किम तथा पश्चिम बंगालबाट समेत पुल हेर्न पर्यटक आउने गरेका छन्।
झापा– पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुंगे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन्। हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरू फोटो र श्रव्यदृश्य खिचिरहेका छन्। यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुंगे पुलको हो। जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लागेको छ। पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बंगालबाट समेत पुल हेर्न पर्यटक आउने गरेका छन्।
बुद्धशान्ति–६ र ७ को दुई वटा गाउँ कोल्बुङ र रमिते गौडाबासीलाई टिमाईको गहिरो गल्छी छिचोल्न सहज बनोस् भनेर निर्माण गरिएको ४७७ मिटर लामो डी आकारको झोलुंगे पुल हेर्न, फोटो खिच्न र टिकटक बनाउन टाढादेखि पर्यटक आउन थालेका हुन्। वडा नं ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले पुलमा नसोचेको संख्यामा पर्यटक आउन थालेको बताए।
“वल्लो डाँडाबाट पल्लो डाँडासम्म फलामे लट्ठामा अडिएको झोलुंगे पुल हेर्दै पर्यटक रमाउने गरेका छन्,” वडाध्यक्ष भण्डारीले भने, “बर्ने, सुनमाई, चारआली र धुलाबारीको बाटो हुँदै पुल हेर्न आउने पर्यटक दिनहुँ बढिरहेका छन्।” पर्यटकले यहाँ टिकटक बनाउने गरेका छन्।
दैनिक ३०० देखि ५०० पर्यटक आउने गरेका छन्। झोलुंगे पुल बनेको वारिपारिको क्षेत्रमा पर्यटकीय चहलपहल बढेको छ। बिदाका दिन पाहुनाको संख्या दोब्बर हुने गरेको छ। पर्यटकको मागअनुसार स्थानीय बस्ती, सडक र पुलको छेउछाउ खाजा तथा नास्ता बिक्री गर्ने साना होटल खुलेका छन्। चटपटे, पानीपुरी र मौसमी फलफूल बेच्ने अस्थायी पसल ह्वात्तै बढेको र स्थानीयवासीको आम्दानीसमेत वृद्धि भएको वडाध्यक्ष भण्डारीले बताए।
संघीय सरकारको ५ करोड ९८ लाख रुपैयाँ लागतमा पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर जयप्रसाद गुप्ताले बताए। प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असार २४ गते शिलान्यास गरेको सो पुलको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको हो। यसको उद्घाटन हुन बाँकी नै छ। यही पुस २५ गते झोलुंगे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए।
झापा र इलामको सीमामा रहेको टिमाई नदी गहिरो गल्छीका कारण पहिल्यैदेखि चर्चित छ। त्यहाँ पर्यटकीय आकर्षणका लागि बन्जी जम्प सञ्चालन हुनुपर्ने माग छ। वनभोज खान र नजिकैको पर्यटकीय क्षेत्र धारागोला र ठुटेबर घुम्न जानेको संख्या पनि अत्यधिक छ। अहिले आँखाले भ्याएसम्मको लामो झोलुंगे पुलले पर्यटकहरुको ध्यान खिच्न सफल भएको छ। नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ठाउँको नयाँ नामकरण गरेर पूर्वाधार थप्ने पालिकाको योजना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईंले बताए।
“यति सजिलै, यति धेरै र यति छिट्टै पर्यटकको ओइरो लाग्ला भन्ने सोचिएको थिएन,” अध्यक्ष प्रसाईंले भने, “अब पुलको नयाँ नाम दिनुपर्ने खाँचो छ। उद्यान बनाएर पर्यटकलाई समय बिताउने सुविधाजनक संरचना निर्माणमा हामी लागिरहेका छौँ।”
हाल पुलको नाम ‘कोलबुङे गौडा रमिते गौडा झोलुंगे पुल’ रहेको छ। पुल बनाउनुअघि स्थानीय गाउँलेको भाषामा गौडा जोडेर परियोजनाको नाम जुराइएको थियो। तर नाम लामो भएकाले पालिकाले नयाँ नाम दिन लागेको प्रसाईंले बताए। पुलको वडा नं ७ तर्फको किनारामा ४ करोड ५० लाखको बजेटमा बुद्धशान्ति हरित उद्यान निर्माण कार्य अघि बढाइएको छ। त्यसबाट पुल हेर्न र घुम्न आउने पर्यटकका लागि समय बिताउने रमणीय स्थान बन्ने उनको भनाइ छ।
पर्वतको कुश्मामा रहेको लामो झोलुंगे पुलमा झैँ पर्यटकको आकर्षण बुद्धशान्तिको झोलुंगे पुलमा देखिएको छ। पुलको केही किलोमिटर वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतको पहिल्यैदेखिका प्रख्यात पर्यटकीयस्थल रहेका कारण पुलमा आउने पर्यटक आगामी दिनमा झनै बढ्ने सम्भावना रहेको वडा नं ६ का अध्यक्ष शिवराज पौडेलले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
