बिहीबार नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार सामान्य अंकको वृद्धि देखिएको छ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो। नेप्सेका अनुसार बिहीबार परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार बिहीबार विभिन्न ३१५ कम्पनीको कुल एक करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुँदा चार अर्ब ६० करोड ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन मंगलबार साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।

पाँच वटा समूहको उपसूचक घट्दा आठ वटाको उपसूचकमा हरियाली छाएको छ। यस दिनको कारोबारमा व्यापार समूहको उपसूचक सर्वाधिक २.०३ प्रतिशतले घटेको छ भने विकास बैंकको उपसूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ।

बिहीबारको कारोबारमा न्यादी हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सामुदायिक लघुवित्त ९.९६, सप्तकोशी डेभेलपमेन्ट बैंक ९.९०, सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९.६५  प्रतिशतले कमाएका छन्।

बिहीबार  सपोर्ट माइक्रो फाइनान्सको ५.०२, जानकी फाइनान्सको ३.६३, नेपाल दूरसञ्चार कम्पनीको ३.२५ र पोखरा फाइनान्सका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाएका छन्।

कारोबार रकम र शेयर संख्याका आधारमा बिहीबार सर्वाधिक २४ लाख १५ हजार ६०० कित्ता शेयर ४६ करोड १७ लाख ४२ हजार ८२० रुपैयाँ बराबरको कारोबार भएको छ।