सन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर गरेको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए।्
मंगलबारे– नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ। कसैको मुख नताकी गर्न सके वार्षिक लाखौँ कमाउनेको संख्या पनि कम छैन। पछिल्लो समय कृषि पेसा छोड्नेको संख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन्।
कृषि पेसाबाट नै गर्न सके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् इलाम सन्दकपुर गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष गिरिराज खनाल। उनले यसै वर्ष ३४ लाख रुपैयाँमाथिको अलैँची उत्पादन गरे।
सन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए। अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन एक लाख १५ हजार रहेको छ। ३० मन अलैँचीको प्रतिमन एक लाख १५ हजार रुपैयाँको दरले पनि ३४ लाख ५० हजार रुपैयाँ पर्न जान्छ। यो उनको एकै वर्षको आम्दानी हो।
गाउँ–गाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन्। बजारमा व्यापारीले एक लाख १० हजार रुपैयाँमाथि खरिद गर्ने गरेका छन्। खनालले लामो समयदेखि अलैँची खेती गर्दै आएका छन्। बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछोडेको उनले बताए। केही वर्षअघि दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसानसमक्ष बिरुवा पुर्याएको उनको भनाइ छ।
धेरै मिहिनेतसमेत नलाग्ने अलैँचीखेतीबाट मनग्गे आम्दानी लिन सकिन्छ। शुरूमा बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन केही खर्च हुने र अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन खर्च हुने गरेको किसान खनालको भनाइ छ। समय समयमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ।
हाल उनले ३३ रोपनी र २४ रोपनीका दुई वटा प्लटमा अलैँचीखेती गरेका छन्। हिउँदको समयमा तुसारो पर्ने भएकाले यहाँ हिउँदका दिनमा तुसारोबाट जोगाउन ग्रिन नेट लगाउने गरिन्छ। उनले यस वर्ष करिब ३० मन अलैँची उत्पादन गरेका छन्। आगामी वर्षबाट अझैँ उत्पादन बढ्ने उनले बताए। अलैँची लगाएको तीन वर्षदेखि उत्पादन शुरू हुन्छ। गएको वर्ष लगाएको नयाँ बिरुवाबाट समेत उत्पादन बढ्ने उनले बताए।
राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने उनी बताउँछन्। राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्छ भन्ने सोचका साथ आफूले कृषि पेसा रोजेको उनी बताउँछन्।
उनले जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट राम्रो रकम कमाइ गरेका छन्। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी हुने गर्दछ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ७८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो। आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा एक हजार ५२५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो।
अलैँची औषधीय गुण भएको नगदेबाली हो। यसबाट विशेष गरेर औषधिजन्य वस्तु निर्माण हुने गर्दछ। गर्मीमासमेत अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गरिन्छ। मसलाका रूपमा समेत अलैँचीको प्रयोग हुन्छ । गाउँघरमा मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाउने गरिन्छ। सर्बत पानीमा समेत यसलाई प्रयोग गरिने गरिन्छ।
नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट पर्फिम वा सुगन्धित तेल निर्माण हुने गर्दछ। विकसित मुलुकमा यसबाट निर्माण भएको पर्फिम निकै मूल्यमा बिक्री हुने गर्दछ। नेपालमा उत्पादित अलैँचीको उचित प्रशोधन र प्रमाणीकरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या भइरहेको छ। झापामा यसको प्रशोधनका लागि एउटा मात्र प्रशोधन केन्द्र हुँदा व्यवसायी समस्यामा परेको बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
