भृकुटीमण्डपमा पुस्तक मेला (तस्वीरहरू)

पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, भारतलगायतका देशका प्रकाशक, उत्पादक तथा वितरकको पनि सहभागिता छ। 

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एशियाली पुस्तक मेला जारी छ। बुधबारदेखि शुरू भएको ‘साउथ एशिया इन्टरनेसनल बुक फेयर २०२५” पाँच दिनसम्म चल्ने छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा सञ्चालन भएको प्रदर्शनीमा दक्षिण एशियाली लेखकका विभिन्न पुस्तक प्रदर्शनमा राखिएको छन्। 

महासंघ र करेन्ट मिडिया दुवै संस्थाले गत वर्ष आयोजना गरेको प्रदर्शनीलाई यस वर्ष पनि निरन्तरता दिएको हो। ‘चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात् गरी प्रदर्शनी सञ्चालन गरिएको आयोजकले जनाएका छन्। पुस २१ गतेसम्म सञ्चालन हुने पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एशिया क्षेत्रका भारतसहितका अधिकांश देश र अन्य देशका प्रकाशक, उत्पादक तथा वितरकको सहभागिता रहेको छ। 

प्रदर्शनीमा स्वदेश तथा विदेशी प्रकाशकबिच कपीराइट टेबल म्याचिङ हुने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए। “अहिले प्रकाशक र लेखकले छलफल गरिरहनुभएको छ , उहाँहरूको निचोड आएपछि हामी अन्तिम दिन कुन कुन प्रकाशक र लेखकहरूको कपीराइट टेबल म्याचिङ तथा प्रकाशन सहकार्य भएको जानकारी गराउने छौँ” उनले भने। पुस्तक प्रदर्शनीमा १३ देशका प्रकाशक, लेखक, निर्यात तथा विभिन्न शैक्षिक सामग्री उत्पादक सहभागी छन्। स्वदेशी तथा विदेशी व्यवसायीका १५० वटा स्टल, साथै चीनको छुटै स्पेस रहेको छ।

प्रदर्शनीमा देशभरबाट मात्र नभई दक्षिण एशियाली क्षेत्रका राष्ट्रको समेत सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीको आयात, निर्यात वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्ने विश्वास लिएको अध्यक्ष सागरले बताए। “यसले दक्षिण एशियाली राष्ट्रबीच शिक्षा साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौँ,” अध्यक्ष सागरले भने। प्रदर्शनीमा देशभरबाट पुस्तकसँग जोडिएका दुई हजारभन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुना आउनुका साथै देशभित्रकै एक दर्जनभन्दा प्रकाशकले सहभागिता जनाउने उनले बताए।