कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा– कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।

कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीको संख्या एक लाख ४४ हजार १३९ रहेकामा गत आर्थिक वर्ष २०८०/८१ मा डेढ लाखभन्दा बढी वृद्धि भई दुई लाख ९७ हजार ५७ पुगेको स्वास्थ्य कार्यालयले स्पष्ट गरेको छ। 

यसैगरी, नसर्ने रोगअन्तर्गत दोस्रो स्थानमा रहको मधुमेह (चिनी रोग) देखिएका बिरामीको संख्या गत आर्थिक वर्षमा एक लाख ८६ हजार ३८७ रहेकामा चालु आर्थिक वर्षको पाँच महिनामा १५ हजार ३३९ रहेको छ।

त्यस्तै, तेस्रो स्थानमा धुवाँ–धुलो र धूमपानबाट हुने दीर्घकालीन प्रकृतिको श्वासप्रश्वास (सीओपीडी) रोगसँग सम्बन्धित बिरामी देखिएको कार्यालयले जनाएको छ। दम रोगसँग मिल्दोजुल्दो यस किसिमको रोगबाट ५५ हजार ९५९ जना प्रभावित भएको सो कार्यालयको तथ्यांकमा उल्लेख छ। 

यसैगरी चालु आर्थिक वर्षको पाँच महिनामा कोशी प्रदेशमा चार हजार ७७८ जना श्वासप्रश्वासका बिरामी देखिएका छन्। त्यस्तै, चौथोमा रहेको मानसिक रोगसँग सम्बन्धित बिरामीको संख्या ३३ हजार ३३१ र पाँचौँमा दमका बिरामी ३१ हजार ७४९ जना रहेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा एक हजार ३१७ जना मानसिक रोगबाट पीडित रहेको पनि प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ।

समग्रमा कोशी प्रदेशमा ६ लाख ४९ हजार ३८२ जना उच्च रक्तचाप, मधुमेह, दमजस्ता नसर्ने प्रकृतिका रोगबाट प्रभावित रहेको सो कार्यालयले स्पष्ट गरेको छ। कार्यालयका निर्देशक डा सुरेश मेहताका अनुसार उच्च रक्तचापको समस्याबाट ३५ वर्षभन्दा माथिका उमेर समूहका मानिस बढी प्रभावित भएका छन्।

झापामा मात्र आर्थिक वर्ष २०८०/८१ मा ९९ हजार १७३ जना रक्तचापको समस्याबाट पीडित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यसैगरी, मोरङमा ५२ हजार ४५०, इलाममा ३८ हजार ७२२, सुनसरीमा ३५ हजार ७८० र उदयपुरमा ११ हजार ३३४ जना रक्तचापसँग सम्बन्धित बिरामी रहेका छन्।

डा. मेहताका अनुसार आफ्नो घरमा तयार हुने रेसादार एवं हरियो सागसब्जीसहितको  प्राङ्गारिक खानाभन्दा होटल तथा बजारका खानामा जोड दिँदा, दैनिक आहारविहार र व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा तथा मध्यपान, धूमपान र मादकपदार्थ सेवनमा व्यक्तिको लत बस्दा उच्च रक्तचापका बिरामीको संख्या वृद्धि भएको हो।