गाउँभरि केराखेती, बजारको अभाव

खबरा गाउँमा १५० परिवारको बसोबास छ। सबैले व्यावसायिक केराखेती गरेका छन्। गाउँबाट वार्षिक २ करोड रुपैयाँभन्दा बढीको केरा बिक्री हुने गरेको छ।

म्याग्दी– बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ। तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन्। 

हिउँदयाम शुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरुंगीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताए। “पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो,” उनले भने, “हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन।” 

खबरा गाउँमा १५० परिवारको बसोबास छ। सबैले व्यावसायिक केराखेती गरेका छन्। गाउँबाट वार्षिक २ करोड रुपैयाँभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ। केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताए। धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताए। 

प्रतिदर्जन १८० रुपैयाँसम्ममा बिक्री हुने गरेको केराको मूल्य घटेर अहिले १०० रुपैयाँमा झरेको छ। बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताए। गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जन मात्रै बिक्री भएको उनले सुनाए। स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ।

खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा)ले बताए। किसानहरू केराका अन्य परिकार बनाउने र सहकारीमार्फत संकलन गरेर पोखरा, बागलुङ, कुस्मामा बजार खोज्न थालेका छन्। 

बेनी नगरपालिकाको केरा पकेट कार्यक्रममार्फत खबरामा ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ। १६ हजारभन्दा बढी केराका गाँज छन्। बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताइन्। 

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्रांगरिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइदिया परियोजनासँग समन्वय गरेको उपप्रमुख लामिछानेले बताइन्।