सामूहिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला

खेती गर्न आफ्नो पर्याप्त जमिन नभएको र बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले सामूहिक तरकारीखेतीमा लागेको लहान नगरपालिका–२२ स्थित सिसवोनीका महिलाले बताएका छन्।

सिरहा– सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीकी अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छन्। 

पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिएकी छन्। खेती गर्न आफ्नो पर्याप्त जमिन नभएको र बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीमा लागेको उनले बताइन्। 

“व्यक्तिगत रूपमा खेती गर्नुभन्दा सामूहिक रूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो। त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेको छौँ,” उनले भनिन्। 

उनी मात्रै होइन यहाँका २७ जना दलित महिलाले करिब दुई बिघा जमिन भाडामा लिएर तरकारीखेती गरिरहेका छन्। ‘सावोरी लघुउद्यमी महिला बचत समूह’समेत गठन गरेका छन्। समूहकी सचिव गंगा सदायका अनुसार समूहमा २७ आबद्ध छन्। “सामूहिक रूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ,” उनले भनिन्। 

अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताए। यही समूहमार्फत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ। अघिल्लो वर्षमात्रै माछा बिक्रीबाट डेढ लाख आम्दानी गरिएको र ६ क्विन्टल आलु उत्पादन गरी ७५ हजार रुपैयाँ खुद नाफा भएको नन्दीलालले बताए। आलु, गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी उत्पादन गर्ने गरिएको उनको भनाइ छ। 

यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गरी रहेको छ। वडा नं १२ का वडाध्यक्ष बद्री नारायण चौधरीले तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए।