क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ घाइते

क्यालिफोर्नियाको एक व्यापारिक भवनमा विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्।

अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्।

बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्टनजिकै विमान दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

फुलर्टन प्रहरीले एक्समा भनेको छ, “दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।” यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्यको घटनास्थलमै उपचार गरिएको छ।

एक प्रहरी अधिकारीले स्थानीय स्टेसन केटीएलएलाई मृतक विमानका यात्रु हुन् या उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको बताएका छन्। टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धुवाँ निस्केको देखिएको छ।

“ठूलो आवाजसहित जहाज भवनमा ठोक्किँदा हामी तर्सियौँ र त्यसपछि भवनबाट भाग्न थाल्यौँ,” घटनास्थलका प्रत्यक्षदर्शीमध्येका एक जेरोम क्रुजले सीबीएस न्युजसँग भने।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार उक्त विमान एकल इन्जिनमा निर्माण गरिएको आरभी–१० हो, जुन चार सिट भएको सानो मोडेलको हो।

गत नोभेम्बरमा फुलर्टन विमानस्थलनजिकै भएको अर्को दुर्घटनामा दुई जना घाइते भएका थिए।