बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन अभिलेखीकरण गरिएको नगरपालिकाले जनाएको छ।

म्याग्दी– बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ। प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन अभिलेखीकरण गरिएको हो। 

पालिकाले सबै घरपरिवारको विस्तृत विवरण रहेको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएको हो। यस्तो सूचना प्रणालीको प्रयोग गर्ने बेनी नगरपालिका नेपालकै पहिलो स्थानीय तह भएको नगरप्रमुख सुरत केसीले दाबी गरे।

“घरदैलो गरेर सबै नगरवासीको घरपरिवारको विवरण संकलन गरेर सफ्टवेयरमा राखेका छौँ,” उनले भने, “लक्षित समुदाय र आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न यो सूचना प्रणालीले सहयोग गरेको छ।” कोही एकै व्यक्तिले दोहोरो, तेहोरो सुविधा पाउने र कसैले नपाउने अवस्थाको अन्त्य हुने नगरप्रमुख केसीको भनाइ छ। प्रणालीमा घरको तस्वीर, परिवारका सदस्य, उनीहरूको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थालगायत ९२ किसिमका सूचना राखिएको छ। 

१० किसिमका व्यक्तिगत सूचनालाई गोप्य राखिएको छ। नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, सचिव र विषयगत शाखाका कर्मचारीको पहुँच हुने प्रणालीको विवरण अद्यावधिक गर्ने अधिकार पनि उनीहरूलाई नै दिइएको छ। 

यही प्रणालीका आधारमा बेनी नगरपालिकाको १० वटा वडाका सात हजार ४४० घरमा क्युआर कोडसहितको विद्युतीय घर नम्बर प्रणाली लागू भइसकेको छ। यसबाट घरधनीको नाम र सम्पर्क नम्बरबाट घरको स्थान पहिचान गर्न सकिनेछ। 

सूचना प्रणालीको विवरण संकलन गर्ने क्रममा पहिचान भएका ३४० जना विपन्न महिलालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सम्बोधन परियोजनामार्फत आयआर्जनमूलक क्रियाकलाप गर्न बीउपुँजी स्वरूप २७ हजार रुपैयाँका दरले सहयोग गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। 

टहरामा बस्दै आएका सात घरपरिवारका लागि यस वर्ष घर बनाउने कार्यक्रम पनि यही सूचना प्रणालीबाट प्राप्त जानकारीका आधारमा बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। 

सफ्टवयर निर्माण, घरधुरी सर्वेक्षण र प्रणालीमा प्रविष्ट गराउन ३९ लाख रुपैयाँ खर्च भएको छ। म्याग्दीको बेनी नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र सुर्खेतको पञ्चमूल गाउपालिकामा आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याउन यूएनडीपीले सहयोग गरेको थियो। पुतलीबजार र पञ्चमूलभन्दा अघि बेनी नगरपालिको प्रणालीको विकास गरी प्रयोगमा ल्याएको हो।