सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्दै सिंगापुर

सिंगापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने ‘हाइड्रोजन जेनेरेटर’को क्षमता कम्तीमा ६०० मेगावाट हुनेछ।

सिंगापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्ने भएको छ। यो २०२९ मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने छ र यसले प्रदूषण कम गर्न मद्दत पुर्‍याउने छ।

ऊर्जा बजार प्राधिकरण (ईएमए) प्रमुख कार्यकारी अधिकृत पुआ कोक केओङले भने, “ऊर्जाको बढ्दो मागसँगै हाम्रो दैनिक जीवनलाई सबल बनाउन पर्याप्त उत्पादन सुनिश्चितता महत्त्वपूर्ण हुन्छ।”

सिंगापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने नयाँ उत्पादन युनिटको उत्पादन क्षमता कम्तीमा ६०० मेगावाट हुनेछ।

कम्पनीका अनुसार दक्षिणपश्चिम सिंगापुरको जुरोङ टापुमा यसको निर्माण हुने छ। यो जेनेरेटरलाई शुरूमा कम्तीमा ३० प्रतिशत हाइड्रोजनबाट सञ्चालन गर्न सक्ने छ। भविष्यमा १०० प्रतिशत हाइड्रोजनमा चलाउने योजना रहेको कम्पनीले बताएको छ।

ईएमएका अनुसार उन्नत उत्पादन, डिजिटल अर्थतन्त्र र यातायातको विद्युतीकरण जस्ता कारणले सिंगापुरको ऊर्जाको माग बढ्दै गएको छ।

शहर–राज्यको बिजुली प्रणालीमा माग आगामी ६ वर्षमा ३.७ प्रतिशतदेखि ५.७ प्रतिशतसम्म चक्रवृद्धि वार्षिक दरमा बढेर सन् २०३० सम्ममा १०.१ गिगावाट र ११.८ गिगावाटको बीचमा पुग्ने प्रक्षेपण गरिएको छ।