काभ्रेपलान्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ।
काभ्रेपलान्चोक– असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो। काभ्रेपलान्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ। तीन किसिमका पर्खाल (आरसीसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए।
“अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिनेछ,” उनले भने। खोलाको बाढी आउन सक्ने ठाउँमा आरसीसी वाल लगाउनुपर्ने देखिएको छ। कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ।
क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेशले बताए। “लागतको स्रोत सुनिश्चित भएको छैन। दातृ निकाय तथा नेपाल सरकारबाट स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ,” उनले भने। राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो।
राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग छलफल गरेका थिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ। मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा छ। मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ। यस्तै, एशियाली विकास बैंक (एडीबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ।
पुनर्निर्माणका लागि स्रोत सुनिश्चितता लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ बेहोर्नुपर्ने प्रमुख योगेशले बताए। “हाल स्रोत सुनिश्चित भएको भए काम सुरु गर्थ्यौं, ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन पनि सक्छ,” उनले भने, “पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्छ।”
काभ्रेपलान्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ। बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालनमा रोक लगाउँदै आएको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ मा बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण शुरू गरिएको थियो। २०७२ असार १८ गते निर्माण सम्पन्न गरी जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड लागत थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
