नियमित सेवाप्रवाह रोकेर दिवस मनाउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले बिहीबार आफ्ना सबै सेवाप्रवाह बन्द गरेर महानगर दिवस मनाउँदै छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले बिहीबार नियमित सेवाप्रवाह रोकेर दिवस मनाउँदै छ।

महानगरले सूचना जारी गरेर सबै सेवा ठप्प हुने जनाएको हो। “महानगर दिवस विषेश रूपमा मनाउँने कार्यक्रम भएको हुनाले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा बन्द हुने छ”, सूचनामा भनिएको छ। 

काठमाडौँ महानगरपालिकाको घोषणा २०५२ मंसिर २९ गते भएको थियो। सोही दिन हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगरले दिवसका रूपमा मनाउँदै आएको छ।

दिवसका अवसरमा कर्मचारी तथा जनप्रतिनिधिबीच फुटबल, टेकु दोभानमा नदी तथा महानगरका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइसहित विभिन्न चेतनामूलक कार्यक्रमहरू भएको जनाएको छ।