नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ४ अर्ब ८६ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को बिन्दुमा कायम भएको हो।

यस दिन ३२७ कम्पनीका ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर ६१ हजार १६७ पटक खरिदबिक्री हुँदा चार अर्ब ८६ करोड दुई लाख एक हजार ९७४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

यस दिनको कारोबारमा बैंकिङ ०.५५, वित्त १.०४, उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०.१४ र म्युचुअल फन्ड ०.७४ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ।

त्यस्तै, विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.६०, जलविद्युत् १.६७ र लगानी समूह ०.३९ प्रतिशतले बढेको छ।

त्यस्तै, जीवन बीमा ०.२७, निर्जीवन बीमा ०.०४, व्यापार १.१४ र अन्य समूह ०.१० प्रतिशतले बढेको छ।

तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ८.८८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको १९ करोड नौ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको तीन लाख ८३ हजार ५०६ कित्ता शेयर किनबेच भएको छ।