माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्ने चटारो

बागमती–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन्। बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हीरालाल मण्डलको भनाइ छ।

सर्लाही– माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ। पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल निकाल्ने चटारो बढेको बागमती नगरपालिका–५ टेकानीका तरुल किसान दलबहादुर लुङ्गेलीले बताए। लुङ्गेलीले बागमती खोला बगरमा पाँच कट्ठा खेतमा तरुल लगाएका छन्। 

चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाउने भएकाले पुसको तेस्रो हप्तासम्म तरुले बेचिसक्ने योजना बनाएको उनले सुनाए। “तरुलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ,” उनले भने, “त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ।” त्यसपछि तरुलले उति राम्रो मूल्य नपाउने उनको अनुभव छ। तरुल स्वास्थ्यका हिसाबले चिसो मौसममा उपयोगी रहेकाले यस बेला व्यापार र मूल्य बढ्ने गरेको छ।

बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन्। बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हीरालाल मण्डलको भनाइ छ। “बगरखेती सुनजस्तै बनेको छ”, उनले भने, “तरुल उत्पादनबाट राम्रै आम्दानी हुन्छ।”

तरुलखेती गरेका बागमती नगरपालिका–४, जिराएतका किसान विमल खड्काले तरुलको उत्पादन राम्रो हुँदा अन्य बालीभन्दा धेरै आम्दानी हुने गरेको बताए। आफ्नो र ठेक्का गरेर खड्काले पनि एक बिघा बगर खेतमा तरुल लगाएका छन्। केहीमा तरुल उत्पादन राम्रो भएको र केहीमा बिग्रिएको उनको भनाइ थियो।

यहाँका किसानले आकासे र पताले गरी दुई जातको तरुल उत्पादन गर्ने गरेका छन्। आकासे अर्थात् सेतो तरुल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४ जिरायतका तरुल व्यापारी राम दरेस महतोले बताए। अर्को पताले अर्थात् रातो जातको तरुल भने उत्पादन केही कम हुने खान पनि स्वादिलो हुने भएकाले मूल्यसमेत राम्रो रहेको उनको भनाइ छ। 

यहाँका किसानले प्रतिबिघा ८० देखि १२० क्विन्टलसम्म तरुल फलाउने गरेका छन्। यस वर्ष छठको समयमा तरुल प्रतिकिलो १२० रुपैयाँसम्ममा बिक्री भएको थियो। अहिले बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँ रहेको तरुल व्यापारी डम्बरबहादुर खड्काको भनाइ छ। यस वर्ष उनी २० बिघामा लगाएको तरुल बजार लैजाने योजनामा छन्।

उनले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरुल लगाएका छन्। जग्गा भाडामा लिँदा वर्षको प्रतिबिगाहा ५० देखि ६० हजार रुपैयाँसम्म तिर्नुपर्ने उनको भनाइ छ। तरुलखेती गर्दा प्रतिकट्ठा बीउ, मलखाद, कामदार गरी आठ हजार रुपैयाँसम्म खर्च हुने गर्दछ। उनका अनुसार तरुल खेतीबाट किसानहरूले प्रतिकट्ठा ३० देखि ४० हजारसम्म आम्दानी गर्दछ। 

बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि लगभग तीन सय बिगाहा क्षेत्रफलमा तरुलखेती हुँदै आएको छ। सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरुल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिक बताउँछन्। बागमती नदी उकास जग्गा तरुल उत्पादनका लागि निकै उपयोगी बनेको छ। 

केही समय अघिसम्म यसैखेर गइरहेको बगरखेतमा यतिबेला किसानले सुन फलाइरहेका बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीले बताए। खोलाको बगर स्थानीय किसानले प्रतिपरिवार पाँच कट्ठाको दरले भाग लगाएर केही समय ता खेती गर्दै आएका छन्। बगरमा किसानले तरुलसहित सखरखण्ड, तोरी, मकै, रहरी, परबर, बोडीलगायतको खेती गर्ने गरेका छन्। खेती राम्रो हुने गरेकाले स्थानीयको आयस्तरमा समेत परिवर्तन ल्याएको नगरपालिकाले जनाएको छ।