स्वर्णलक्ष्मी सरकारीको बचत दुरूपयोग अभियोगमा रवि, छवि, जीबीसहित ३९ जनाविरुद्ध मुद्दा

स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरूपयोग अभियोगमा सो सरकारीका अध्यक्ष गितेन्द्रबाबु राई, पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ।

काठमाडौँ– काठमाडौँमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम दुरूपयोग अभियोगमा सो सरकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर बिहीबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको थियो। सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो। कार्यालयले उनीहरूविरुद्ध बचतकर्ताले फिर्ता पाउनुपर्ने एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ।

सरकारी वकिल कार्यालयले स्वर्णलक्ष्मी सहकारीका वर्तमान उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सहसचिव, सहकारीका सञ्चालक सदस्य, सहकारीका निवर्तमान अध्यक्ष, कोषाध्यक्ष सचिवलगायतलाई पनि प्रतिवादी बनाएको छ।

स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएका कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछाने सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा कास्की प्रहरीको हिरासतमा छन्। जोशी र लामिछाने लगायतविरुद्ध परेको सूर्यदर्शन सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सरकारी वकिल कार्यालयले रम्तेल, जोशी र लामिछानेलाई काठमाडौँ झिकाउन माग गरेको छ।

अभियोग पत्रमा जीबी राई, देवेन्द्रबाबु राई, ईरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दीपक लामा, सबिना आलेमगर, भक्तबहादुर भोलन, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, नवीन अछामी, कल्पनाकुमारी श्रेष्ठ, गोकुल श्रेष्ठ, श्रीवल्लभ नेपाल, खिमानन्द कँडेल, अनन्तबाबु राई, विशाल तामाङ, भगवती बम्जन, वीरबहादुर रानाभाट, शिवप्रसाद पौडेल, देवकुमार तामाङ, पुष्पराज पौडेल, किरण पुडासाई, जनक भट्टराई, कृष्णबहादुर पोखरेल, कल्याणकुमार घिमिरे, मुखिया कान्छा गुरुङ, भूपेन्द्र राई, राजु बराल र असरफ अली सिद्धिकी फरार प्रतिवादीहरू छन्।

लामिछानेले आफू सञ्चालक रहेको कम्पनीमा आफूसमेत कार्यरत रहँदा सहकारी संस्थाबाट गैरकानूनी रूपमा रकम ल्याई परिचालन गरी आफ्नो र आफू आबद्ध संगठित समूहको लाभका लागि मात्र कार्य गरी सहकारी संस्थाका बचतकर्तालाई ठगी गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ।

“निज रवि लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको शेयरधनी एवं सञ्चालक, प्रबन्ध निर्देशक र बैंक खाताको हस्ताक्षरकर्ता रहेको अवधिमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि.बाट गैरकानूनीपूर्वक विभिन्न माध्यमबाट भित्र्याइएको रकम र गीतेन्द्रबाबु/रवि लामिछानेको नाममा सो सहकारीमा खोलिएको कर्जा खाता/फायलबाट प्रतिवादी रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ अपचलन गरी ठगी गर्ने कार्यमा संलग्नता रहेको पुष्टि हुन आयो,” अभियोग पत्रमा भनिएको छ।

गोरखा मिडिया नेटवर्क प्रालिको शेयरधनी एवं सञ्चालक भई कार्यरत रहेको अवधिमा स्वर्णलक्ष्मी सहकारीबाट गैरकानूनीपूर्वक जोशीले प्रत्यक्ष रूपमा चार करोड १९ लाख ९९ हजार  र अप्रत्यक्ष रूपमा एक करोड १८ लाख २८ हजार ११० गरी पाँच करोड ३८ लाख २७ हजार ११० रुपैयाँ व्यक्तिगत रूपमा अपचलन गरेको हालसम्मको अनुसन्धानबाट देखिएको अभियोग पत्रमा उल्लेख छ। “स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिमा गैरकानूनी रूपमा जम्मा रकम रु. पाँच  करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ अपचलन गरी भित्र्याई संगठित रूपमा ठगी गर्ने कार्यमा निज प्रतिवादी छविलाल जोशीको संलग्नता रहेको पुष्टि हुन आयो,” अभियोग पत्रमा भनिएको छ।