३४ बन्धक रिहा गर्न हमास तयार, इजरायलसँग वार्ता जारी

हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ। यद्यपि इजरायलले भने हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको जनाएको छ।

हमासले गाजा युद्धविरामको नयाँ सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ। 

हमासका एक अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्स र एएफपीले यसबारे खबर साझा गरेका हुन्। तर यीमध्ये कतिजना बन्धकहरू जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

सूचीमा रहेका नामहरूमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना बन्धकहरू छन्। यसमा केही युवा पुरुषहरू पनि छन्, जसलाई हमासले इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो। हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ।

यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको बताएको छ। यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता शुरू भएको बताएको थियो।

इजरायलले गाजापट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता शुरू गर्ने घोषणा गरिएको हो। आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएको आक्रमणमा ८८ जनाको मृत्यु भएको बताएको छ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टीनी विद्रोही समूह हमासद्वारा इजरायलमा आक्रमणपछि भएको युद्धमा अहिलेसम्म ४७ हजारभन्दा बढी प्यालेस्टाइनीहरू मारिएका छन्। उक्त आक्रमणमा इजरायलमा १० नेपालीसहित ११०० भन्दा धेरैले ज्यान गुमाएका थिए भने २५१ जनालाई बन्धक बनाएर गाजामा लगिएको थियो। 

हमासले गत वर्ष नोभेम्बरको अन्त्यमा एक हप्ता लामो युद्धविरामको अवधिमा इजरायलबाट प्यालेस्टिनी कैदीलाई छाड्ने सर्तमा १०५ इजरायली बन्धकलाई रिहा गरेको थियो र त्यसअघि चार बन्धकहरूलाई रिहा गरिएको थियो।

यस्तै, आठ बन्धकहरूलाई गाजाबाट इजरायली सेनाले जीवितै उद्धार गरेको छ र ३८ बन्धकहरूको शव पनि बरामद गरिएको छ। अब गाजामा ९६ बन्धक रहेको अनुमान गरिएको छ।

यो पनि: विपिनका बुवा भन्छन्– ‘दिन गन्तेर बस्याका छौँ’

नेपालका विपीन जोशी अझै सम्पर्कविहीन छन्। विपिन पनि हमासकै नियन्त्रणमा गाजामा रहेको इजरायल सरकारले जनाएको छ। यस सम्झाैतामा उनी छुट्छन् या छुट्दैनन् भन्ने कुरा उनको परिवारका साथै समग्र नेपालीका लागि चासो र चिन्ताको विषय बनेको छ।