अमेरिकामा हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित, विभिन्न राज्यमा आपतकाल घोषणा

आँधीका कारण अमेरिकाको जनजीवन प्रभावित भएको छ। भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड नै तोडेको छ।

अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यहरूले आपतकाल घोषणा गरेका छन्।

समाचार एजेन्सी एपीका अनुसार हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ। हजाराैँ उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन्। हिमपातका कारण धेरै दुर्घटना भएको खबर पनि आएका छन्।

हिमपातसँगै आएको आँधीका कारण अमेरिकाको जनजीवन प्रभावित भएको छ। भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड नै तोडेको छ। आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिमपात भएको छ। कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन्।

कान्सासका अधिकारी ब्रायन प्लाटले भने, "पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको छैन।" त्यहाँको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ।

मौसमविद्हरूले यस खराब मौसमको कारण ध्रुवीय भर्टेक्स (आर्कटिक वरपर चिसो हावाको प्रवाह) भएको बताएका छन्। सोमबारदेखि स्थितिमा सुधार आउने अपेक्षा गरिएको छ।