क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

पश्चिम नवलपरासीको कारागारमा क्षमताको तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।

फाइल तस्वीर

नवलपरासी– पश्चिम नवलपरासीको कारागारमा क्षमताको तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। कारागारमा १७५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ५६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार २५ महिला र १५० पुरुष कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनिका बालबालिका, ९२ जना महिला र ४७० जना पुरुष छन्।

कैदीबन्दीहरूको संख्या बढी भएपछि उनीहरूको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ। आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको कारागार कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ।

“रुपन्देही र कपिलवस्तुका कारागारमा महिला कैदीबन्दीलाई राख्ने ठाउँ नभएपछि यतै पठाउने गरिएको छ, यसले व्यवस्थापनमा समस्या भएको छ,” उनले भने।