चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौँ उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई छ। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ।

काठमाडौँ– अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई छ।

वातावरणविद् भुषण तुलाधरका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ। “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ,” उनले भने। त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ।

एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित शहरमा परेको छ। उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ। लाहोरको एक्यूआई ३४१ एक्यूआई छ।

साथै दोस्रो स्थानमा रहेको भारतको कोलकातको एक्यूआई २४८, तेस्रो स्थानमा मंगोलियाको उलानबाटरको एक्यूआई ३३८ छ। साथै चौथो स्थानमा रहेको प्रदूषित शहर भारतको नयाँ दिल्लीको एक्यूआई २२७ एक्यूआई छ।

विपद व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानेर हरिया संकेत दिइन्छ। साथै ५१ देखि १०० सम्मको एक्यूआईले होसियार रहन संकेत गर्छ। १०१ देखि १५० सम्मको एक्यूआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटु रोगीका लागि खतरा मानिन्छ। उनका अनुसार १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ।

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख गरेको छ। उक्त विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरंग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ।

प्रमुख शहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने रणनीतिमा उल्लेख छ।