आफ्ना प्रकाशकलक्षित कार्टुन नछापिएपछि वासिङ्टन पोस्टकी कार्टुनिस्टको राजीनामा

वासिङ्टन पोस्टकी कार्टुनिस्ट एन टेल्नइसले आफ्ना प्रकाशक जेफ बेजोस तथा राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पलक्षित कार्टुन प्रकाशन नभएपछि पदबाट राजीनामा दिएकी छन्।

वासिङ्टन पोस्टकी कार्टुनिस्ट एन टेल्नइसले आफूले बनाएको ‍आफ्ना प्रकाशक तथा राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पलक्षित कार्टुन प्रकाशन नभएपछि पदबाट राजीनामा दिएकी छन्। उनले वासिङ्टन पोस्टका मालिक जेफ बेजोसले डोलान्ड ट्रम्पको समर्थनमा पैसा चढाएको कार्टुन बनाएकी थिइन्। तर पोस्टले उक्त कार्टुन छाप्न रोकिदिएको थियो।

उनले बनाएको कार्टुनमा ट्रम्पजस्ता लाग्ने एक व्यक्ति देखिन्छन्। उनका तल विभिन्न कम्पनीका मालिक घुँडा टेकेर निहुरिएका छन्। उनीहरूको हातमा डलरका पोका छन्।

बेजोसले नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई सहयोग गरेका थिए। कार्टुनमा बेजोससँगै फेसबुकका मालिक मार्क जुकरबर्ग, ओपन एआईका सीईओ साम अल्टमन, लस एन्जलस टाइम्सका प्रकाशक प्याट्रिक सुन–सिवङ, वाल्ट डेजिनी कम्पनीसमेत ट्रम्पको पाउ परेको दृश्य देखिन्छ।

टेल्नइसले शुक्रबार राजीनामाबारे आफ्नो ‘सब्स्ट्याक’मा भनेकी छिन्, “मैले बुझाएको कार्टुनबारे सम्पादकीय टोलीको प्रतिक्रिया पाएँ। फलदायी छलफल भयो। हाम्रो मत–भिन्नता पनि थियो। कसको या केमाथि कार्टुन बनाएको भन्ने आधारमा हालसम्म मेरो कुनै पनि कार्टुन अस्वीकार गरिएको छैन।”

सम्पादकीय कार्टुनिस्टको हैसियतमा आफ्नो काम शक्तिशाली व्यक्ति र संस्थालाई जबाफदेही बनाउने रहेको उनको भनाइ छ।

“पहिलो पटक, मेरा सम्पादकले मलाई त्यो महत्त्वपूर्ण काम गर्नबाट रोके। त्यसैले मैले पद छोड्ने निर्णय गरेको छु। मेरो निर्णयले हलचल पैदा गर्ला भन्नेमा मलाई शंका छ, किनभने म कार्टुनिस्ट मात्र हुँ,” उनी थप्छिन्, “तर म मेरो कार्टुनका माध्यमबाट सत्यको पक्षमा खबरदारी गर्न छाड्ने छैन, किनभने उनीहरूले भनेका छन्– ‘डेमोक्रेसी डाइज इन डार्कनेस’।”

वासिङ्टन पोस्टको स्लोगन हो– ‘डेमोक्रेसी डाइज इन डार्कनेस’। पोस्टले ‘एक्स’ ह्यान्डलको बायोमा समेत यही लेखेको छ। 

बेजोसलगायतका अर्बपति अहिले ट्रम्पको समर्थनमा छन्। चुनावका बेला फेसबुकका मालिक जुकरबर्गले ट्रम्पलाई सहयोग नगरे पनि राष्ट्रपतिमा निर्वाचित भएपछि उनी भेट्न पुगेका थिए। अघिल्लो कार्यकालमा भने जुकरबर्गले ट्रम्पको फेसबुक एकाउन्ट नै ‘सस्पेन्ड’ गरिदिएका थिए। 

त्यस्तै, ट्रम्पको अघिल्लो कार्यकालमा बेजोस आलोचक थिए तर यस पटक सहयोग गरे। निर्वाचनमा एलए टाइम्स र वासिङ्टन पोस्ट दुवैको सम्पादकीय टोलीले राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसलाई ‘इन्डोर्स’ गर्न खोजे पनि अन्ततः प्रकाशकहरूले रोकिदिएका थिए। जसका कारण अप्रत्यक्ष रूपमा ट्रम्पलाई सहयोग पुगेको थियो।

टेल्नइसको राजीनामालाई लिएर अहिले न्युयोर्क टाइम्स, गार्जियन लगायतका ठूला सञ्चारमाध्यमले समाचार बनाइरहेका छन्। वासिङ्टन पोस्टले समेत टेल्नइसको राजीनामाबारे समाचार प्रकाशन गरेको छ।