चीन भूकम्प: नेपालमा कहाँ–कहाँ भयो क्षति?

भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।

काठमाडौँ– चीनको सिजाङ स्वशासित क्षेत्रको डिंग्गे काउन्टी केन्द्रविन्दु भएर गएको भूकम्पबाट नेपालमा ठूलो क्षति नभएको पाइएको छ। 

भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमासमेत महसुस गरिएको थियो। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिए। “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उनले भने। 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताए। “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उनले भने, “यद्यपि विस्तृत विवरण आउन भने बाँकी छ।”

नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिए। भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।

थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको दुईतले घरमा क्षति पुगेको छ। यस्तै, खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङस्थित आङङिमा शेर्पाको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकामा एउटा घर भत्किएको छ। भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको संसुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए। घरमा सात जनाको परिवार बस्दै आएको थियो। उनीहरू भने सकुशल छन्। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो।