नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ५ अर्ब ३८ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा कायम भएको हो।

मंगलबार ३०५ कम्पनीको एक करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर ६६ हजार ६२६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा बैंकिङ समूह ०.२७, होटल तथा पर्यटन ०.०४, उत्पादन तथा प्रशोधन ०.२५ र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ।

लगानी समूहको उपसूचक स्थिर देखिँदा अरू समूहका उपसूचक भने बढेका छन्। सबैभन्दा धेरै वित्त समूह २.६५ प्रतिशतले बढेको छ। विकास बैंक ०.८०, जलविद्युत् ०.४२, जीवन बीमा ०.६७, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.३५, निर्जीवन बीमा ०.४२ र व्यापार समूह ०.५९ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक र ङादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।