तिब्बत भूकम्प अपडेट : १२६ जनाको मृत्यु, हजारौँ भवनमा क्षति

तिब्बत क्षेत्रमा मंगलबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ भने अन्य १८८ जना घाइते भएका छन्।

तस्वीर : जिग्मे दोर्जे/सिन्ह्वा

चीनको दुर्गम तिब्बत क्षेत्रमा मंगलबार गएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। छिमेकी नेपालको राजधानी काठमाडौँ र भारतका केही भागमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

चीनको सरकारी प्रसारणकर्ता सीसीटीभीले सार्वजनिक गरेको भिडियोमा भित्ता चिरा परेर घरहरू ढलेको देखिन्छ।

भिडियोमा उद्धारकर्मी भग्नावशेषमा हिँडडुल गरेको, स्थानीय बासिन्दालाई शून्य डिग्रीभन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल बाँडेको पनि देखिन्छ।

भूकम्प मंगलबार बिहान करिब ९ः०० बजे (०१०० जीएमटी) नेपालसँगको सीमानजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिंगरी काउन्टीमा गएको थियो।

“यहाँ घरहरू माटोबाट बनेका छन् त्यसैले जब भूकम्प आयो... धेरै घरहरू ढले,” ३४ वर्षीय साङ्जी डाङ्झीले भने। उनको तिंगरीको सुपरमार्केटमा ठूलो क्षति भएको छ। उनले स्थिति ‘धेरै गम्भीर’ भएको बताए। एम्बुलेन्सले दिनभर मानिसहरूलाई अस्पताल पुर्‍याइरहेका थिए। 

सीसीटीभीले प्रकाशन गरेको सीसीक्यामरामा कैद भएका भिडियोमा मानिसहरू पसलका प्यासेज हुँदै भागिरहेको, र्‍याक जोडले हल्लिएको, खेलौनाजस्ता वस्तु भुईँमा खसेको देख्न सकिन्छ।

सीसीटीभीका अनुसार स्थानीय समयानुसार साँझ ७ः०० बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन्। गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। तीन हजार ६०९ घर भत्किएका छन्। 

डिङ्ग्री काउन्टीको चाङ्सुओ टाउनसिपमा भग्नावशेषमा परिएकाहरूको खोजी गर्दै उद्धारकर्ताहरू। तस्वीर : लिउ युसेङ/सिन्ह्वा

चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीइएनसी)ले भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड मापन गरेको छ भने यूएस जियोलोजिकल सर्भेले ७.१ म्याग्निच्युड मापन गरिएको छ।

प्रभावित क्षेत्र सगरमाथाको चिनियाँ तर्फको पहाडी भू–भागले घेरिएको छ। भूकम्पको केन्द्रविन्दु तिंगरी लगभग ६२ हजार जनसंख्याको घर हो। यो तिब्बतको राजधानी ल्हासाजस्तो शहरी केन्द्रभन्दा कम विकसित छ। धेरै घर ढुंगा, माटोको इँटा र काठको बिमजस्ता परम्परागत सामग्री प्रयोग गरेर निर्माण गरिएको देखिन्छ। 

आपत्कालीन कमान्ड सेन्टरलाई उद्धृत गर्दै सीसीटीभीले यस क्षेत्रमा भूकम्प आपत्कालीन प्रतिक्रियाको स्थिति उच्च स्तरमा बढाइएको बताएको छ। 

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सम्भव भएसम्म क्षति कम गर्दै, सम्पूर्ण खोज र उद्धार प्रयासहरू, प्रभावित बासिन्दाको उचित पुनर्वास र जाडोयाममा उनीहरूको सुरक्षा र न्यानो सुनिश्चित गर्न’ आह्वान गरेको राज्य प्रसारणले जनाएको छ।

चीन मौसम विज्ञान प्रशासनका अनुसार तिंगरीमा रातको तापक्रम माइनस १६ डिग्री सेल्सियस (३.२ फरेनहाइट) सम्म झर्ने अनुमान गरिएको छ। अधिकारीहरूले तीन हजार ४०० भन्दा बढी उद्धारकर्ता र ३४० भन्दा बढी चिकित्साकर्मी परिचालन गरिएको बताएका छन्।

काठमाडौँका साथै नेपालको सगरमाथा नजिकैको उच्च पहाडी क्षेत्र लोबुचे वरपरका क्षेत्रहरू पनि भूकम्प र परकम्पले हल्लाएको थियो। “यहाँ निकै जोडले हल्लियो, सबै ब्युँझिए”, सगरमाथानजिक रहेको नाम्चे क्षेत्रका सरकारी अधिकारी जगत‍्प्रसाद भुसालले भने।

सुरक्षा बल परिचालन गरिएको तर हालसम्म कुनै मानवीय क्षतिको विवरण नआएको नेपाल सरकारको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

सन् २०१५ मा नेपालमा आएको ७.८ म्याग्निच्युडको भूकम्पमा करिब नौ हजार मानिसको ज्यान गएको थियो। २२ हजारभन्दा बढी घाइते भएका थिए। 

भारतको बिहार राज्यमा पनि धक्का महसुस गरिए पनि क्षतिको खबर आएको छैन। मंगलबारको भूकम्प पछिल्लो पाँच वर्षमा २०० किलोमिटर (१२४ माइल) को परिधिभित्र रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली रहेको सीइएनसीले बताएको छ। 

सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको भूकम्पमा १४८ जनाको मृत्यु भएको थियो। हजारौँ विस्थापित भएका थिए। यो सन् २०१४ पछि चीनको सबैभन्दा घातक भूकम्प हो। सन् २०१४ मा आएको भूकम्पमा परी दक्षिण–पश्चिमी युनान प्रान्तमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। रासस/एएफपी