त्रैमासिक समीक्षा: आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा ३.४ प्रतिशत मात्र हासिल भएको हो।

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (जीडीपी) ३.४ प्रतिशतमा खुम्चिएको छ। गत असोजको  बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर संकुचित भएको हो। 

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा ३.४ प्रतिशत मात्र हासिल भएको हो। अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छ। निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत् तथा ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ। यो क्षेत्र २१.४ प्रतिशतले बढेको छ। यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत योगदान रहेको छ।

पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र ६.३, वित्तीय तथा बीमा क्षेत्र ५.७, प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ र पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

चालु आवको प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अंकले संकुचनमा रहेको अनुमान छ। निर्माण क्षेत्र 0.३ प्रतिशतले नकारात्मक रहेको छ। अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत हुने अनुमान छ। 

धानलगायतका बर्खे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदेबाली र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको जनाइएको छ। 

समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षाका कारण कृषिजन्य उत्पादनमा वृद्धि हुने अपेक्षा गरिए पनि बाढी र पहिरोका कारण कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको हो।

अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्र पहिलो त्रैमासमा शून्य दशमलव पाँच प्रतिशतले मात्र वृद्धि हुने  अनुमान छ। कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको कार्यालयले जनाएको छ।

समीक्षा अवधिमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव तीन, शिक्षा क्षेत्र ०.४, स्वास्थ्य क्षेत्र ४.१ र घरजग्गा कारोबार क्षेत्र ३.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

“अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कूल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्। यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो”, कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ।